ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “दोहोरो नागरिकता लिने पक्राउ” शीर्षकको समाचार छापिएको छ । नेपाल र भारत दुवै देशको नागरिकता लिनेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दोहोरो नागरिकता लिएको आरोपमा ३० वर्षीय चन्दनकुमार दासलाई आइतबार पक्राउ गरेको हो । उनी विराटनगर १५ मा बस्दै आएका थिए । विराटनगर १९ बाट २०६३ चैत्र ३० गते जन्मको आधारमा नागरिकता लिएको देखिएको छ । अखिलकुमार दासलाई बाबु बनाएर उनले नागरिकता लिएको खुलेको हो । बाबुराम पोखरेलको हस्ताक्षर रहेको ०५३०८४,२९३ नम्बरको नेपाली नागरिकता दाससँग रहेको देखिएको छ । पक्राउ परेका दाससँग भारतीय आधारकार्ड पनि छ । उनले भारत विहार राज्यबाट लिएको आधारकार्ड ग्राम नगर हरिपुर ९ पोष्ट हरिपुर थाना फारविसगञ्ज अनुमण्डल अररिया जिल्लाबाट पनि नागरिकता लिएको देखिएको छ ।उनले लिएको आमआदमीका अधिकार भन्ने कार्डको नम्बर ३३६१९५८६६१३७ छ । बुबाको नाम नेपाली नागरिकता र भारतीय आधारकार्ड दुवैमा अखिलकुमार दास नै रहेको छ । दास विहारको स्थायी निवासी भएको निवासी भएको प्रमाणपत्रसमेत अररिया अनुमण्डल फरविसगञ्ज प्रखण्ड फरविसगञ्जबाट अङ्ग्रेजी तारिख १७,०३,२०१७ मा लिएको प्रमाण फेला परेको छ । दासले दोहोरो नागरिकता बनाएको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त घनश्याम श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “पाँचथर हत्याकाण्डः त्रासमा दिन कटाउँदै आरुबोटेबासी” शीर्षकको अर्को समाचार पनि छापिएको छ । पाँचथरको दुर्गमस्थानमा रहेको आरुबोटेमा सानो बजार छ । गाउँघरमा दिनभरिको काम गर्ने युवा र बुढापाका बजारमा भेला हुने क्याराम बोर्ड र चिया गफमा व्यस्त हुन्थे । तर अचेल चिया पसलर बजारमा चहल पहल कम छ । बजारमा गाउँलेको उपस्थिति कम छ । दिनभरि मेलापातको काम सकेर बेलैमा परिवारका सदस्य जम्मा भएर चाँडै सुत्ने गरेका छन् । प्रायः ढुंगा र माटोको घरमा वरण्डा तानेर सुत्न र बस्नको लागि बनाइएका घर प्रशस्तै छन् । तर सोही गाउँमा नौ जनाको निर्मम तरिकाले हत्या भएपछि भने घरबाहिर सुत्ने र रातको समयमा हिँडडुल गर्ने क्रम घटेको छ । गाउँमा कोही नयाँ र नौलो व्यक्ति देखा परे एकले अर्कोलाई खबर गरि त्यसको सोधीखोजी व्यापक हुन्छ । विद्यालयमा समयमै छोराछोरी पुगेका छन् या छैनन् त्यसको चासो अभिभावकले गर्दै आएका छन् । लामो समयसम्म आसपासका विद्यालय बन्द भए । भूकम्पबाट बच्नको लागि बनाइएका काठ र टिनको बेरा लगाइएका घरको झ्याल र ढोका मर्मत सम्भार गरी दह्रो बनाएका स्थानीयले त्रासमै दिन कटाउदै आएका छन् । गाउँघरमा टुक्रे व्यवसाय गर्ने स्थानीयसमेत समयमै व्यवसाय बन्द गरी बेलैमा घर जाने गर्दछन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “एक दर्जन विद्यार्थी घाइते” शीर्षकको समाचार छापिएको छ । धनुषाको विदेह नगरपालिकाको कार्यालयमा मेयरका समर्थक र विद्यार्थीबीच झडप भएको छ । विदेह नगरपालिका ६ तीनकौरियास्थित रहेको जनता नमुना मावि गिद्धाबेलापट्टीका विद्यार्थी र अभिभावकहरुले प्राधयापकलाई नियमविपरित सरुवा गरेको, शिक्षकको तलब, विद्यार्थीको छात्रावृति रकम रोकेको र विद्यालयको बजेटमा मेयरले कमिसन मागेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गर्द दुई पक्षबीच झडप भएको हो । मेयर बेचन दासका समर्थक र विद्यार्थीबीच झडप हुदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । विद्यार्थी र अभिभावकहरुले शुक्रबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “करणी प्रकरणमा विद्यालय घेराउ” शीर्षकको समाचार छापिएको छ । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेपछि स्थानीयबासी पीडित पढ्ने विद्यालय घेराउ गरेका छन् । १४ वर्षीय छोरीलाई एक वर्षयता पटक पटक जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिबार विराटनगर ४ का ऋषिदेव समुदायका एकव्यक्तिलाई पक्राउ गरेपछि स्थानीयबासीले आइतबार बालिका अध्ययन गर्ने विद्यालय घेराउ गरेका छन् । विद्यालयका शिक्षकले नै प्रहरीलाई बोलाएर झुटो आरोप लगाएर पक्राउ गराएको स्थानीयबासीको आरोप छ । पीडित किशोरी विराटनगर ४ निवासी हुन् । उनी बुढीगंगा गाउँपालिका २ मा रहेको एक आधारभुत विद्यालयमा कक्षा ५ मा अधययनरत छिन् । शुक्रबार किशोरीले घटना सुनाएपछि अनुसन्धानका लागि ३७ वर्षीय बुबालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकार दिए ।