धरान: उद्योगी, व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि मतदान शुरु भएको छ ।

आगमी तीन बर्षको लागि संघको नयाँ नेतृत्व चयनको लागि बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । अहिले धरान १ स्थित संघको कार्यालय अघि ठुलो संख्यामा मतदाता र उम्मेदवारहरुको भीड छ । मतदानमा राजनीतिक दलका नेता, कार्यकर्ताहरु पनि आफुले समर्थन गरेको उम्मेदवारको लागि लविङ गर्न ब्यस्त छन् । मतदान गर्न दिउँसो ३ बजेसम्मको समय दिइएको छ ।

एक जना अध्यक्ष र १६ जना सदस्य चयनको लागि अहिले मतदान भइरहेको छ । अध्यक्षमा गिरीधारी सापकोटा र विजय श्रेष्ठबीच प्रतिस्पर्धा छ । दुवैमा कडा टक्कर हुने र झिनो मतान्तरले मात्र हारजित हुने अनुमान छ । सापकोटालाई नेकपाको पुर्ण समर्थन छ भने श्रेष्ठलाई नेपाली कांग्रेसको साथ छ । संघमा राजनीतिक ध्रुवीकरण भन्दा पनि जातीय राजनीति हावी छ । संघमा नेवार समुदायको एकजुट हुने भएकोले श्रेष्ठले जित्ने एकथरीको दाबी छ भने यसपाली नेवार समुदायमा पनि मत विभाजन भएको र सापकोटालाई नेकपाले समर्थन गरेकोले अन्तिम मतपरिणाम कस्को पक्षमा आउछ भन्ने द्धिविधा पनि व्यप्त छ ।

IMG_8381

संघको ८ जना वाणिज्य सदस्य, ४ जना उद्योग सदस्य, एक जना वाणिज्य महिला सदस्य र ३ जना एशोसिएट सदस्यको चयनको लागि मतदान भइरहेको छ । वस्तुतगतर्फ २ जना सदस्य र उद्योगतर्फका महिलामा एक जनाको निर्विरोध चयन भइसकेका छन् । वाणिज्यतर्फको ८ जना सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । वाणिज्यमा उम्मेदवारी दिनेहरुमा मनोज श्रेष्ठ, मानबहादुर विश्वकर्मा, सशी साह, सीताराम आचार्य, दिनेश राई, अशोक जैन डाँगा, राजेश अग्रवाल, रंजित चौधरी, उपेन्द्र चाम्लिङ, प्रेमप्रसाद पराजुली, नविन राजभण्डारी, शैलेशकुमार आचार्य(प्रमोद), अंकित अग्रहरी र जयप्रकाश शर्मा छन् ।
यसैगरि, एक जनाको मात्र कोटा रहेको वाणिज्यतर्फको महिला सदस्य पदमा ममता शाक्य र शुभेच्छा अधिकारी(श्रेष्ठ)को उम्मेदवारी परेको छ ।

IMG_8382

यस्तै, ४ जना सदस्य रहेको उद्योगतर्फ ८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गर्नेहरुमा अनुप देवान, राजकुमार निरौला, राजकुमार राई, रोजन रनपैली, विष्णु वराल, पियुष राज आचार्य, प्रभाव खतिवडा र महेन्द्र प्रधान छन् । यसैगरि, ३ जना सदस्यको मात्र पद रहेको एशोसिएटतर्फ ६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा अनिलकुमार अग्रवाल, राजेश अग्रवाल गोयल, राजु साह, गोपाल श्रेष्ठ, रोहन हाँडा र किसन मास्के छन् । संघमा कुल १७४८ मतदाता छन् । त्यसमध्ये आज संघमा वाणिज्य तर्फ १ हजार ५५, उद्योगतर्फ ५सय ९४, एशोसिएट तर्फ ८३ र वस्तुगत तर्फ १६ जना मतदाता छन् ।