इटहरी:ट्राफिक प्रहरी कार्यालय प्रदेश १ मा प्रविधिको उपयोग गरेर सवारी साधनको अनुगमन गर्नुपर्ने प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताएका छन् ।

सोमबार ट्राफिक प्रहरी प्रदेश १ को कार्यालय इटहरीमा यहाँका सञ्चारकर्मीसँग परिचयात्मक भेटमा दाहालले ट्राफिक प्रहरीले प्रविधिको माध्यमबाट सवारी अनुगमन गर्नुपर्ने बताएका हुन् । उनले भने,‘ट्राफिक प्रहरी ठाउँ–ठाउँमा उभ्याउन गाह्रो छ, सीमित स्रोत साधन भएपनि हामी काम गरिरहेका छौँ ।’ ट्राफिक प्रहरीको संख्या बढाएर मात्रै नहुने बताउँदै दाहालले टेक्नोलोजीको माध्यमबाट काम गर्नु आवश्यक देखिएको बताए ।

उनले सवारी साधनको गति कुन स्पीडमा छ भन्ने कुरा ट्राफिक प्रहरीले देख्न नसक्ने र राडार गनको प्रयोग गर्नुपर्नेमा जोडदिए । ‘अहिले प्रदेश १ मा व्यापक रुपमा पार्किङको समस्या रहेको छ,’ उनले भने, ‘इटहरी, धरान, बिराटनगर, बिर्तामोड, दमकमा पार्किङको ज्यादै समस्या छ, यो बिषयमा हामी स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने तयारीमा छौँ ।’ सडकमा हाट बजार लाग्ने कुरामा पनि उनले यसलाई हटाउने बताए । ‘सडक भनेको सवारी आवागमन हुने ठाउँ हो, हाट लगाउन हैन,’उनले भने ।

स्थानीय सरकारको स्वीकृतिमा केही शुल्क व्यापारीले दिने बित्तिकै सडकमा हाट लगाउन नपाउने बताउँदै उनले राजमार्गमा हाट लगाउँदा अपराधिक क्रियाकलाप बढ्ने बताए । ‘व्यापारीले पनि सुरक्षित स्थानमा व्यापार गर्नुपर्छ, राजमार्गमा असुरक्षा हुन्छ,’ उनले भने, ‘व्यापारी र यात्रुलाई मात्रै नभई अन्य मानिसहरुलाई पनि राजमार्गमा हाट लगाउँदा समस्या हुने गरेको छ ।’

प्रदेश १ मा ३ सय ५० जना ट्राफिक प्रहरी छन् । सवारी चाप अत्यधिक बढेको र सडक क्षेत्र पनि बिस्तार हुँदै गएको छ । तर, त्यसको अनुपातमा भने ट्राफिक प्रहरीको संख्या बढ्न नसक्दा व्यवस्थापनमा समस्या भएको एसपी दाहालले बताए । प्रदेश १ मा गत बर्ष भन्दा यो बर्ष सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या घटेको छ । ट्राफिक प्रहरी कार्यालय प्रदेश १ को तथ्याङ्क अनुसार प्रदेश १ मा गत बर्ष १ हजार २ सय ७१ वटा सवारी दुर्घटना भएको थियो । जसमध्ये ४ सय २४ जनाको ज्यान गएको थियो ।

तर, यो बर्ष भने दुर्घटनाको संख्या बढेको भएपनि ज्यान जानेको संख्यामा कमी भएको छ । यो आर्थिक बर्षको ११ महिनाको अवधिमा प्रदेश १ मा १ हजार ६ सय सवारी दुर्घटना हुँदा ३ सय ६ जनाको ज्यान गएको छ । आगामी दिनमा दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले उल्लेख्य भूमिका खेल्ने प्रहरीले योजना बनाएको छ ।