ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इनरुवा अस्पतालमा ७८ वर्षपछि पहिलो शल्यक्रिया” शीर्षकको समाचार छापिएको छ । सुनसरी सदरमुकामस्थित इनरुवा अस्पतालले आफ्नो स्थापनाको ७८ वर्षमा पहिलो पटक शल्यक्रिया सेवाको थालनी गरेको छ । झोडा फँडानीपश्चात् वि.सं. १९९८ भदौ २७ गते स्थापना भएको इनरुवा अस्पतालले ७८ वर्षको अन्तरालमा पहिलो पटक गर्भवती महिलाको शल्यक्रिया गरेको हो । सेवा थालनीको क्रममा प्रसुति रोग विशेषज्ञ डा. बालकृष्ण साहले गर्भवती महिलाइनरुवा ८ की जमिला खातुनको सफल शल्यक्रिया गरेका हुन् । खातुन इनरुवा अस्पतालको इतिहासमा शल्यक्रिया गरी सन्तान जन्माउने पहिलो महिला बनेकी छन् । अस्पतालले दिएको जानकारीअनुसार आमा र शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य छ । डा. साहको नेतृत्वमा रहेका जयकिशोर चौधरी, आनन्द मण्डल, प्रवीन तामाङ, निशा मेहता, राधा चौधरी, इन्दिरा गौतम, सुवर्ण श्रेष्ठ, संगिता बजगाई र पुल्कित मरिकको टोलीले पहिलो शल्यक्रिया गरेको हो । पहिलो शल्यक्रियामा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतासहितको उपस्थिति रहेको थियो ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “विराटनगरबाट विप्लवका कार्यकर्ता पक्राउ” शीर्षकको अर्को समाचार पनि छापिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई प्रहरीले विराटनगर महानगरपालिका ७ डाँफे चोकबाट पक्राउ गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका ८ का ५३ वर्षीय रुद्र पौडेललाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ परेका पौडेलमाथि विप्लव समूहले विभिन्न समयमा आह्वान गरेको बन्द र हड्तालका बेला ठाउँ ठाउँमा बम राखेर जनजीवन आतङ्कित पार्ने गतिविधिमा पनि संलग्न भएको आरोप लगाइएको छ । यसअघिदेखि नै प्रहरीले उनको खोजी गरिरहेको थियो । विभिन्न ठाउँमा बम राखेर शान्ति सुरक्षाको अवस्थामा असर पुर्याउने तथा सवसाधारणलाई आतङ्कित पार्ने कार्यमा पौडेलको संलग्नता हुनसक्ने आशङ्कामा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “काठ बोकेको बेवारिसे ट्याक्टर बरामद” शीर्षकको समाचार छापिएको छ । उदयपुर प्रहरीले काठ बोकेको बेवारिसे ट्याक्टर फेला पारी नियन्त्रणमा लिएको छ । सोमबार विहानपख पौने १ बजेजस्तो समयमा त्रियुगा नगरपालिका ७ को चुहाडे चोक र नमुना चोकबीच भएर कालीखोलातर्फबाट काठ बोकेर आउदै गरेको ट्याक्टर बेवारिसे अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सखुवाको चिरान काठ बोकेर आउँदै गरेको स १ त ६५०५ नं. को ट्याक्टर प्रहरी गस्ती टोलीलाई देखेर भागेपछि बेवारिसे अवस्थामा भेटिएर काठसहितको ट्याक्टर नियन्त्रणमा लिएको हो । ड्युटीमा रहेको अस्थायी प्रहरी पोष्ट चुहाडेको गस्ती टोलीलाई देख्नेवित्तिकै काठ बोकेर आउँदै गरेको ट्याक्टर त्यत्तिकै छाडेर चालक र सहचालकलगायत केही व्यक्ति अज्ञातस्थलतर्फ भागेको प्रहरीले जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “झापामा जैविक विविधताको संरक्षण गरिने” शीर्षकको समाचार छापिएको छ । जैविक विविधताले भरिपूर्ण झापाको जलथलस्थित सामुदायिक वनमा वन मिचाह प्रजातीले रैथाने वनस्पतिको विस्थापन सुरु गरेको छ । भद्रपुर नगरपालिका, बाह्रदर्शी, केचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका २२ वटा सामुदायिक वन जैविक विविधताले महत्वपूर्ण देखिन्छ । यहाँ पहाडमा मात्र पाइने कटुस, चिलाउनेलगायत तराइमा पाइने विभिन्न प्रजातीका वनस्पति पाइन्छन् । ती वनस्पतिको प्याङ्ग्री लहरा, आलुपाते, लज्जावती, सत्यनाशी, जलकुम्भीजस्ता वन मिचाहा प्रजातिले रैथाने जातिको विस्थापन गरी लोप हुने अवस्थामा पुर्याउने खतरा बढ्दै गएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए ।