इटहरी: इटहरीका मेयर द्धारिकलाल चौधरीले पटक पत्रकारमाथि दुव्र्यवहार र धम्की दिएको घटनापछि उत्पन्न असहज अवस्थाबारे सत्यतथ्य पत्ता लगाउन गत २३ गते गठन भएको मिसन टोलीले प्रतिवेदन बुझाएको छ ।

टोलीले तयार पारेको प्रतिवेदन आज नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिलाई बुझाएको हो । टोलीले ३० जना मानिससँग प्रत्यक्ष र अप्रत्यक्षरुपमा कुराकानी गरेर प्रतिबेदन तयार पारेको जनाएको छ । मिशन टोलीका संयोजक मोहनकाजी न्यौपानेले प्रतिवेदन महासंघका प्रदेश महासचिव विवेक गौतमलाई बुझाएका थिए । घटनाको अडियो, भिडियो रेकर्ड, समाचार सामाग्री, सामाजिक सञ्जालका बिचारलाई संकलन गरी अध्ययन गरेर सुझाव दिइएको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिवेदनमा इटहरीका मेयर चौधरीको अभिव्यक्ति असंवैधानिक, गैरकानुनी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी साथै पदीय मर्यादा विपरीत भएको उल्लेख छ । साथै, मेयर चौधरीले भ्रष्टचार नियन्त्रणमा पत्रकारले बाधा उत्पन्न गराएको भनि लगाएको आरोप भ्रामक भएको पनि प्रतिवेदनमा उल्लेख छ । पत्रकार विराट अनुपमले नै पहिलो पटक सिएफएल प्रकरण बाहिर ल्याएको र इटहरीका पत्रकारहरु भ्रष्टचार विरोधी अभियानमा क्रियाशिल रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

1 5

यस्तै, पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा मेयर चौधरीले कमेन्ट गरेको बिषयलाई फोन गरेर उत्तेजित बनाएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिबेदनमा ‘मिसन टोलीसँगको भेटघाटमा उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले पत्रकार र प्रेस जगतप्रति गलत अभिब्यक्ति दिएको स्वीकार गर्दै त्यसमा आँफू सच्चिन तयार रहेकोले सार्वजनिक स्थलमा गएर कान समातेर सयपटक उठबस गर्न पनि तयार रहको बताएको’उल्लेख छ ।

प्रतिवेदनले पत्रकार एवं सञ्चार जगतले लेखेको र प्रश्न सोधेको आधारमा अनावश्यक आवेग, उत्तेजना र दुव्र्यवहारमै उत्रने कमजोरी मेयर चौधरीले सुझार गर्नुपर्ने सुझाव दिएको छ । यस्तै, पत्रकारिता पेशाको मर्यादा र विश्वसनीयता कायम गराउनका लागि सम्पुर्ण सञ्चारकर्मीहरुलाई पुुर्णरुपले आचारसंहिता पालना गराउन, पत्रकारको सुद्धिकरण गर्न, पित पत्रकारितालगायतका विकृति नियन्त्रण गर्न, दक्षता बढाउने बिशेष तालिम सञ्चालन गर्न पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाले बिशेष योजना ल्याउन पनि सुझाव दिइएको छ ।

2 3

पत्रकारले रिपोर्टिङ गर्दा र अन्र्तवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्यादित र पुर्वाग्रही प्रश्न गर्न नगर्न तथा सामाजिक सञ्जाल पृथक बिषय भएको हुँदा पत्रकारहरुले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुन पनि सुझाव दिइएको छ । समाचारहरु सम्बन्धी गुनासोको प्रारम्भिक सुनुवाई गर्न महासंघको जिल्ला शाखाहरुमा संयन्त्र निर्माण गर्न पनि सुझाव दिइएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने संयोजक रहेको मिशन टोलीमा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साल, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र महासंघ प्रदेश सदस्य जयकृष्ण यादव रहेका थिए ।

तस्बिर स्रोत: मोहनकाजी न्यौपानेको फेसबुक