धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डिनको अध्यक्षतामा गठन भएको प्रवेश परीक्षा समिति हटाएर विगतमा जस्तै शिक्षाध्यक्षकै अध्यक्षतामा गठन गर्न चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको छ ।

आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारलाई जेठ २४ गते पत्रमार्फत यो निर्देशन दिएका हुन् । उपकुलपति डा.रौनियारले शैक्षिक डिन डा.सि.बि.झाको अध्यक्षतामा परीक्षा समिति गठन गरेका थिए । उनको यो निर्णय विगतको अभ्यास र प्रावधान विपरीत भएको आरोप लाग्दै आएको थियो । यो बिषयमा शिक्षामन्त्रालय, आयोगलगायत विभिन्न निकायमा उजुरी परेको थियो ।

उजुरीबारे गएको चैत ४ गते आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ववत विधि र प्रक्रिया अनुरुप नै प्रवेश परीक्षा सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको मन्त्री पोखरेलले उपकुलपति रौनियारलाई लेखेको पत्रमा उल्लेख छ । प्रतिष्ठानका उपकुलपति रौनियारले पुर्वाग्रही भएर शिक्षाध्यक्ष डा.गुरु खनाललाई प्रवेश परीक्षा समितिमा नराखेको आरोप छ । दुवैबीच लामो समयदेखि सम्बन्ध चिसिएको छ । रौनियारले शिक्षाध्यक्ष खनालले रजिष्ट्रार तुलबहादुर श्रेष्ठसँग मिलेर आफुलाई पदबाट हटाउन चलखेल गरेको आरोप लगाउदै आएका छन् ।

उपकुलपति डा.रौनियारले भने आफुले नियमावली अनुसार नै डिनलाई परीक्षा समितिको अध्यक्ष बनाएको बताए । शिक्षाध्यक्षलाई सुपरीवेक्षणको जिम्मेवारी एको प्रावधान पनि नियमावलीमा नै भएको उनले बताए । आफु विदामा भएकोले मन्त्रीको पत्रबारे थाह नभएको पनि उनले खुलाए । ‘पत्र कस्तो आएको छ, म त्यो हेरेर निर्णय लिन्छु । विपी स्वास्थ्य मन्त्रालय अन्र्तगतको संस्था हो,’उनले भने ।

pic-1,Bpkihs-VC-office

प्रतिष्ठानका शिक्षाध्यक्ष डा.खनालले पनि अहिलेसम्म शिक्षाध्यक्षलाई वाइपास गरेर प्रवेश परीक्षा समिति नै नबनेको बताए । यो बिषयमा आफुले लिखितरुपमा नै उपकुलपतिलाई सच्याउन आग्रह गर्दा पनि उनले नमानेको बताए । ‘यस्तो विवादास्पद निर्णय नगर्नुस् भनेर भने, मान्नु भएन,’उनले भने । शिक्षाध्यक्षको सिफारिशमा मात्र असिस्टेन्ट डिन नियुक्ती हुने भएपनि उपकुलपतिले यो विधि र प्रक्रियालाई पनि मिचेर डिनबाट सिफारिश गराएर नियुक्ती दिएको उनले बताए ।

2 5 1 6