ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “भारतमा बेचिन लागेका २ महिलाको उद्दार” शीर्षकको समाचार छापिएको छ । सुनसरीको भण्टाबारी नाका हुँदै भारतमा बेचिन लागेका २ जना महिलाको उद्दार गरिएको छ । घरको काममा लगाइदिन्छु भन्दै भारतको दिल्लीमा बेच्न लादै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा सीमा सशस्त्र प्रहरी बल भण्टाबारी र मानव अधिकारकर्मीको संयुक्त टोलीले २ जना नेपाली महिलाको उद्दार गरेको हो । फोन सम्पर्कमार्फत चिनजान गरी २ जना महिलासँगै दिल्ली जान तयारी अवस्थामा भएको बखत एक दलाललाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर भण्डारीले जानकारी दिए । इटहरीबाट २ जना महिला र एकजना दलालसँगै अर्का एकजना पुरुषले भण्टाबारी नाका हुँदै भीमनगरबाट दिल्ली जाने बसमा चढ्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको बिओपी भण्टाबारीका सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए । दिल्लीमा घरको काममा लगाइदिन्छु भन्ने प्रलोभन देखाई मोरङ विराटचौक नगरपालिका १० बस्ने २३ वर्षीया शेषकुमारी अधिकारीले मोरङ पथरी नगरपालिका १ की ३५ वर्षीय कोपिला पोखरेल र बुटवल महानगरपालिका ६ रुपन्देही स्थायी घर भई हाल काठमाण्डौ कपन बस्दै आएकी ३४ वर्षीया कुन्ती ठकुरीलाई बेचबिखन गर्न लादै गर्दा उनीहरुको उद्दार गरिएको मानवअधिकारकर्मी शिवेन्द्र कर्णले जानकारी दिए ।

औजार : आजको औजार दैनिकमा “असारे हतारो बजेट सक्ने चटारो” शीर्षकको समाचार छापिएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभरी नै विकासको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्ष सकिन करिब एक महिना बाँकी रहँदा सदरमुकाम इनरुवा सहित जिल्लाका दक्षिणी क्षेत्रका स्थानीय तहले असारे विकासलाई तीब्रता दिएका छन् । स्थानीय तहले भौतिक पूर्वाधार निर्माणको काम, सडकबाटो, भवन निर्माण, पुल निर्माण, कल्भर्ट निर्माण सहितको काममा तीब्रता दिएका छन् । केही ठाउँमा कर्मचारी अभाव, समयमा ठेक्का नलागेको, टेण्डर लागेपनि समयमा काम नगरेको र पालिकामा राजनीतिक दन्द्धका कारण काममा ढिलाई भएको भन्दै बल्ल केही ठाउँमा पूर्वाधार निर्माणमा तीब्रता दिएको छ । सुनसरीको इनरुवा नगरपालिकाको ३४ वटा निर्माणको काम धमाधम भइरहेको छ । वडादेखि नगरपालिकासम्म उपभोक्ता समितिदेखि टेण्डरसम्म काम भइरहेको नगरप्रमुख राजन मेहताले बताए । काम सुरुदेखि भएपनि तीब्रता यसबेला पाएको र केही काम सम्पन्न भएको समेत मेहताले बताए । हरिनगरको गौरवशाली योजनाहरुको निर्माण धमाधम भइरहेको छ । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिकामा निर्माणाधीन काममा ठेकेदार कम्पनीहरुले काम धमाधम गरिरहेको गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “नीति तथा कार्यक्रम बहुमतले पारित” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६,७७ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार प्रदेशसभा बैठकको बहुमतले पारित गरेको छ । मुख्य वीपक्ष नेपाली कांग्रेसको असहमतिका बाबजुद नीति तथा कार्यक्रम पारित भएको हो । जेठ २३ मा सरकारका तर्फबाट प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाहाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि कांग्रेसका सांसदहरुले ११ बुँदे संशोधन गराएका थिए । कांग्रेसका तर्फबाट शेखरचन्द्र थापालगायत ७ जना सांसदले संशोधन दर्ता गराएका थिए । संशोधनको विषयमा मुख्यमन्त्रीले मौखिक जवाफ दिएर मात्रै नहुने र ग्रहण गर्नुपर्ने माग गर्दै कांग्रेसले शंशोधन फिर्ता नलिएपछि संशोधन प्रस्ताव अस्वीकृत भएको थियो । संशोधन दर्ता गराएको संघीय समाजवादी फोरम नेपालका तर्फबाट जयराम यादवले भने मुख्यमन्त्रीको सम्बोधनपछि संशोधन फिर्ता लिएका थिए ।