धरान: स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको छ ।

धरान क्षेत्रमा विभिन्न अभियान चलाएपनि डेंगु नियन्त्रणमा नआएपछि स्वास्थ्य कार्यालयले बुधबार धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको हो । डेंगु नियन्त्रणको अभियान तीब्ररुपमा चलाए पनि डेंगुका विरामीको संख्यामा कमी नआएपछि धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले बताए । उनका अनुसार प्रदेश निर्देशनालयमा यसबारेमा जानकारी गराइएका छ भने सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, धरान उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पनि बोधार्थ दिइएको छ ।

औपचारिकरुपमा धरानलाई नै डेंगु प्रकोप क्षेत्र घोषणा गरिए पछि अब विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उपचार हुनेछ भने सरकारले पनि डेंगु नियन्त्रणको लागि बिशेष अधिकार प्रयोग गरेर लार्भा नष्ट गर्न पनि सक्नेछ । ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्पतालहरुमा लक्षणको आधारमा उपचार हुन्छ, किटले परीक्षण गरिरहनै पर्दैन,’र्यापिड रेस्पोन्स टिमका संयोजक डा.विजयराज खनालले भने,‘उच्च ज्वरो आएको छ, र अन्य सहायक लक्षण पनि देखिन्छ भने डेंगु भनेर उपचार शुरु गरिन्छ ।’

डेंगु रोगबारे धरानको पछिल्लो ३ बर्षको तथ्यांक अनुसार धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले तीन बर्षको डेंगु रोगका विरामीहरुको तथ्यांक प्रदेश निर्देशनालयलाई दिएको थियो । प्रतिष्ठानमा २०७३ सालमा १३ जना, ०७४ सालमा १२ जना विरामी देखिएको थियो भने गत बर्ष(२०७५) ११ जना मात्र पोजेटिभ विरामी थिए । यो बर्ष भने अफ सिजनमा नै डेंगु नियन्त्रणबाहिर पुगेपछि स्वास्थ्य कार्यालयले बुधबार औपचारिकरुपमा नै प्रकोप क्षेत्र घोषणा गरेको हो ।

dengu-out-break