ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “मोटरसाइकल दुर्घटना हुँदा एक वर्षमा ९४ को मृत्यु” शीर्षकको समाचार छापिएको छ । पछिल्लो वर्षमा प्राकृतिक विपदबाट भन्दा सडक दुर्घटनाबाट बढी जनधनको क्षति भएको पाइएको छ । जसमा झापामा दुई पाङग्रे सवारी सबैभन्दा धेरै दुर्घटनामा पर्ने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । झापामा हुने अधिकांश सवारी दुर्घटनामा दुई पाङ्ग्रे सवारी पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । चालु आर्थिक वर्षको २०७६ जेठ २८ सम्म दुई पाङग्रे सवारी दुर्घटना हुँदा ९४ जनाले ज्यान गुमाइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका इन्सपेक्टर होमप्रसाद अधिकारीले बताए । ११ महिनाको अवधिमा ६३ जना चालक र ३१ जना पछाडि सवार यात्रुको मृत्यु भएको इन्सपेक्टर अधिकारीले जानकारी दिए ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रभावकारी भएन हात्ती रोक्ने अभियान” शीर्षकको अर्को पनि समाचार छापिएको छ । सुनसरीको मध्यवर्ती क्षेत्रमा हात्ती रोक्ने अभियान प्रभावकारी भएको छैन । कोशी टप्पु वन्यजन्तु आरक्षले विधुतीय तारले घेरा गरेपनि हात्ती आतंक रोकिएको छैन । यसै क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर गाउँ पसेको जङ्गली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका ८ स्थित भण्टाबारीमा एकजनाको ज्यान गयो । हात्तीको आक्रमणबाट सप्तरी बोदेबसाइन गाउँपालिका श्रीपुर स्थायी घर भई १४ वर्षदेखि भण्टाबारीमा बस्दै आएका ५५ वर्षीय सदरुल मियाँको मृत्यु भयो भने उनकी छोरी घाइते भइन् । दिनहुँजसो आउने हात्तीको त्रासले भण्टाबारी र हरिपुर क्षेत्रका सर्वसाधारण राति जाग्राम बस्दै आएका छन् । विगत १ महिनायता यस क्षेत्रमा रैथाने जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी सर्वसाधारणलाई त्रसित बनाउँदै आएका छन् ।

औजार : आजको औजार दैनिकमा “धरानमा सिसी क्यामेरा बाँदरको खेलौना” शीर्षकको समाचार छापिएको छ । धरान बजारको सुरक्षालाई मध्यनजर गरी विभिन्न स्थानहरुमा जडान गरिएका सिसि क्यामेरा बाँदरको खेलौना भएका छन् । भानुचौक बाहेकका सिसी क्यामेराले काम गर्न छोडेपनि मर्मत सम्भारमा ध्यान दिइएको छैन भने बिग्रिएको सिसि क्यामेराहरु बाँदरकै खेलौना जस्तै बनेको छ । बाँदरले सिसी क्यामेरा फुटाइदिने, तारहरु टाकेर चुडाउनेसम्म गर्ने गरेका छन् । पछिल्लो समयमा बाँदर आतङ्कले नै सिसी क्यामेरा फटेका र तारहरु चुँडिएकाले सबै क्यामेराले काम गरिरहेका छैनन् । २०७० सालमा सुनसरी उवासंघले भानुचोकदेखि छाताचोकसम्म मात्रै ३२ वटा सिसी क्यामेरा जडान गरेको थियो । अहिले ३२ वटामध्ये भानुचोकका ६ वटाले मात्रै काम गर्छन् । बजारका मुख्य सडक तथा आसपासका क्षेत्रको शान्ति सुरक्षाका लागि भन्दै जडान गरिएको सिसी क्यामेरा बिग्रिएपछि मर्मतमा ध्यान पुगेको छैन । सुरक्षाका दृष्टिकोले संवेदनशील मानिएका क्षेत्रमा नै क्यामेरा नचल्दा सुरक्षा खतरा उत्तिकै बढेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “गर्भवती श्रीमतीको बिजोग” शीर्षकको समाचार छापिएको छ । अन्तरजातीय विवाहपछि गर्भवती श्रीमतीलाई बेवारिसे बनाएर श्रीमान वेपत्ता भएपछि पाँचथरको याङ्वरक गाउँपालिका ४ की प्रमिला सिवाको बिजोग भएको छ । एक वर्षअघि सिदिङ्बा गाउँपालिका ४ साब्लाखुका विजय ताम्लिङ लिम्बुसंग अन्तरजातीय विवाह गरेकी ििसवाको श्रीमानले अर्को विवाह गरेपछि बिचल्ली भएको हो । आर्थिक अवस्था कमजोर भएकी प्रमिलाको कोखबाट मंगलबार पाँचथर अस्पतालमा छारीको जन्मभएपछि सुत्केरी सिवाको हेरचाह गर्ने मान्छेसमेत नभएपछि उनको बिचल्ली भएको हो । अहिले आमा र शिशु दवैको अवस्था राम्रो रहेको स्वास्थयकर्मीहरुले बताएका छन् ।