धरान:सुनको गहना सफा गरेर टल्काई दिने वहानामा रसाईमा डुबाएर सुन ठगी गने दुई जना भारतीयलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।

धरान १७ स्थित रेल्वेकी ३२ बर्षीय सविना राईको सुन टल्काउने क्रममा ठगी गरेको उजुरी परेपछि प्र्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको विहार राज्यको कटिहार जिल्लास्थित नयाँ टोलका १९ बर्षीय पवनकुमार मण्डल र सोही जिल्लाको तीन गछियाका १९ बर्षीय दिपककुमार साह हुन् । उनीहरुले बुधबार पीडित राईको घरमा पुगेर भाडाकुडा टल्काएका थिए ।

साथै, सुनको सिक्री पनि टल्काई दिने आश्वासन दिएपछि राईले २ तोला चार आनाको सुनको सिक्री पनि टल्काउन दिएकी थिइन् । उनीहरुले सुनको सिक्री रसाईन झोलमा डुबाएर ब्रस गर्दा सिक्री सानो भई चुट्टिएपछि तौलिदा १ तोला ७ आना मात्र भएको थियो । सुनको सिक्रीबाट ९ आना गायब भएको थाह पाएपछि मात्र सविनाले आफु ठगहरुको चंगुलमा फसेको थाह पाइन् । लगत्तै उनले प्रहरीमा खबर गरेकी थिइन् ।

IMG_3071

प्रहरीले ठगी गर्नमा प्रयोग गरेको ससायनिक पदार्थसहित विभिन्न सामान र दुवै भारतीय नागरिक पक्राउ गरेको छ । पीडित राईले ठगी मुद्दामा उजुरी लिएपछि थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । डिएसपी ढुण्डीराज न्यौपानेले यस्ता ठगी गर्ने ब्यक्तिहरु घर,गाँउ तथा टोलमा आएको हुनसक्ने भएकोले जाननकारी हुनासाथ प्रहरीमा खबर गर्न र सचेत हुन पनि आग्रह गरेका छन् ।