धरान:डेंगुको प्रकोपले पिरोलिएको धरानमा आएर प्रदेश सरकारका मन्त्रीद्धयले धरानबासीहरुलाई आफ्नो घरमा जम्मा गरेर राखेको पानी पोखाउन आह्वान गरेका छन् । साथै, उनीहरुले प्रदेश र स्थानीय सरकारले दिनहुँ पानी वितरणको व्यवस्थापन गर्ने पनि आश्वासन दिएका छन् ।

बिहिबार डेंगु नियन्त्रणको लागि प्रदेश स्वास्थ्य निर्देशनालयले बनाएको कार्ययोजनाबारे धरानमा वृहत छलफल गर्न आएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेले धरानबासीसँग आह्वान गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् । मन्त्री कार्कीले धराने जनता आफै सचेत भएर घरमा जम्मा भएको पानी नपोखेसम्म डेंगुको प्रकोप नियन्त्रणमा नआउने भएकोले यस्तो आह्वान गर्नुपरेको बताए । ‘सरकार, उपमहानगरपालिका र जनप्रतिनिधिलाई मात्र दोष दिएर हुदैन, सबै धराने जनता पनि जिम्मेवार हुनुपर्छ,’मन्त्री कार्कीले भने,‘तपाईहरुले घरमा जम्मा गरेको पानी पोखाउनुस्, हामी हरेक दिन पानी वितरण गर्ने व्यवस्था गछौं । प्रदेश र नगर सरकारले यसको व्यवस्थापन गर्छा ।’

dengu-mantrii1

सामाजिक विकास मन्त्री घिमिरले सरकारले खानेपानीको यथोचित व्यवस्थाप गर्ने आश्वासन दिदै धरानबासीहरु सबै आफै सचेत हुनुपर्ने बताए । सरकार र जनप्रतिनिधिहरुबाट मात्र नियन्त्रण सम्भव नहुने भन्दै मन्त्री घिमिरले विज्ञ, चिकित्सकहरुले दिएको सुझावलाई इमान्दारितापुर्वक व्यवहारमा उतार्न आह्वान गरे । ‘तपाई हामी सबैले आजै संकल्प गरौं, आफ्नो घरमा भएको पानीमा लामखुट्टेको लार्भा हुन्छ । त्यो नष्ट गरौं, पानी पोखाऔं, सरकारले दिनहुँ घरमा पानी वितरणको व्यवस्थापन गछौं,’उनले भने ।

धरानमा डेंगु नियन्त्रणको लागि थुप्रै उपाय र अभियानहरु चलाए पनि सफल नहुनुमा घरमा जम्मा भएको पानी मुख्य कारण भएको चिकित्सक एवं विज्ञहरुले बताउदै आएका छन् । धरानमा खानेपानीको चरम अभाव भएकोले धरानेहरुले घरमा खानेपानी, कपडा धुन र भाडाकुडा पखाल्न पनि अलग अलग पानी जम्मा गरेर राख्ने गरेका छन् । त्यही पानीमा लामखुट्टेको अण्डाले लार्भा, प्युँपा हुदै पुर्णरुप लिने गरेको भन्दै चिकित्सकहरुले घरमा भएको पानी पोखाउन सुझाउदै आए पनि कार्यान्वयन भने हुन सकेको छैन । त्यसैले प्रदेशका मन्त्रीहरुले धरानमा दिनहुँ पानी वितरण गर्ने आश्वासन दिदै घरमा पानी जम्मा नगर्न आह्वान गरेका हुन् । र्यापिड रेस्पोन्स टिमका संयोजक डा.विजयराज खनालले पनि घरमा जम्मा भएको पानीमा लार्भा छ भन्ने जान्दा जान्दै पनि व्यवहारमा उतार्न नसक्दा डेंगु नियन्त्रणमा आउन नसकेको बताए । ‘सचेत भयौं, तर व्यवहारमा उतार्न कञ्जुस्याई गरिरहेका छौं, त्यसैले लार्भा नष्ट भएको छैन,’उनले भने ।