ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इमोमार्फत् ठगी गर्ने दुई पक्राउ” शीर्षकको समाचार छापिएको छ । मोरङको धनपालथान गाउँपालिका ६ का ३६ वर्षीय श्रवन मलहा ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा चार महिनाअगाडि पक्राउ परेका थिए । अनुसन्धानको क्रममा २७ दिन प्रहरी हिरासतमा बसेपछि मोरङ प्रहरीले श्रवणलाई अदालतमा उपस्थित गरायो । थुनछेक बहसपछि जिल्ला अदालत मोरङले श्रवणलाई २ लाख धरोटीमा छोड्न आदेश दियो । गत पुस २६ गते ठगी गरेको आरोपमा पक्राउ परेका श्रवणलाई माघ २२ गते मोरङ अदालतले २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । अदालतले तोकेको सो धरौटी रकम बुझाएपछि श्रवण छुटे । एक पटक अपराधिक क्रियाकलापमा संलग्न भएर पक्राउ परेका व्यक्ति छुटेर गएपछि गाउँ, समाजले सुध्रिन्छ भन्ने अनुमान राख्छन् । तर, श्रवणको हकमा भने यस्तो लागू भएन । ठगी आरोपमा पक्राउ परेका श्रवण धरौटीमा छुटेको ४ महिना पुग्न नपाउँदै पुनः पुरानै ठगी धन्दामा संलग्न भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले श्रवणसहित ठगीधन्दामा संलग्न उनका साथी विराटनगर ११ का २३ वर्षीय निरज मरिकलाई पनि पक्राउ गरेको हो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “फितलो कानुनले चुरे उजाडिदैः मुख्यमन्त्री” शीर्षकको समाचार छापिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले फितलो कानुन व्यवस्थाले तराई मधेशको चुरे विनाश भइरहेको बताएका छन् । फितलो कानुनले गर्दा क्रसर माफियाहरुले चुरे सखाप गरिरहेको उनले बताएका हुन् । सरोकारवाला निकायले सहि ढंगले कानुन कार्यान्वयन नगर्दा चुरे दोहन बढेको उनले टिप्पनी गरे । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मनसुन पूर्वतयारी सम्बन्धी बिहीबार जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, “देशमा फितलो कानुन छ, कार्यान्वयन एकाइ झन् फितलो छ । देशको फितलो कानुनकै कारण चुरे उजाडिदै छ ।” विपद् जोखिम न्यूनीकरणका लागि मानसिक, भौतिक र प्राविधिक रुपमा सरकार गम्भीर हुनुपर्ने भन्दै चुरे विनाश गर्न क्रसर माफियाहरुले मन्त्रीदेखि प्रशासनसम्म सेटिङ गरेको उनले तर्क गरे ।

औजार : आजको औजार दैनिकमा “तालिमका क्रममा ५ सिपाही बेहोस” शीर्षकको समाचार छापिएको छ । सशस्त्र प्रहरी बलको पाथीभरा गण दमकमा तालिम लिइरहेका ५ जना जवान सिकिस्त विरामी भएका छन् । बिहीबार विहान भारी बोकेर हिड्ने क्रममा ५ जना सिकिस्त विरामी परेका हुन् । विरामीहुनेहरुमा प्रशान्त कुलुङ, भरत कपाली, देवचन्द्र राई, दिपक कुलुङ र यामकुमार दियाली सिकिस्त विरामी भएका हुन् । सशस्त्र प्रहरी पाथीभरा गण दमकका डिएसपी लालसिंह विष्टले प्रहरीजवानहरुलाई डिहाइड्रेसन भएर विरामी परेको बताए ।