धरान: धरानमा देखिएको डेंगु प्रकोप झापा र मोरङ जिल्लामा पनि देखिन थालेपछि प्रदेश सरकार गम्भीर बनेको छ । बुधबार आपतकालिन स्वास्थ्य बैठक आयोजना गरेर एक साताभित्र नियन्त्रणमा ल्याउने निर्णय गरेको प्रदेश सरकारले बिहिबार कार्ययोजना नै सार्वजनिक गरेको छ ।

सरकारले डेंगुको प्रकोप नियन्त्रण तथा उपचारको लागि ८० लाख बजेट विनियोजन गरिसकेको छ । सरकारले एक साताभित्र डेंगु नियन्त्रण गर्न प्रदेश सरकारले सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहलाई निर्देशनसमेत दिएको छ । बिहिबार धरानमा वृहत अन्र्तक्रिया कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्रराज डोटेलले एक साताभित्र डेंगु नियन्त्रणको कार्ययोजना पेश गरेका थिए । निर्देशक डोटेलले प्रस्तुत गरेको कार्ययोजनामा प्रजिअको समन्वयमा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, उद्योग वाणिज्य, नगरपालिका, जनपद,सशस्त्र र स्थानीय समुदायसमेतको सहभागितामा जिल्लास्तरीय समन्वय बैठक गरेर जिम्मेवारी दिइने उल्लेख छ ।

denguu

डेंगु प्रभावित क्षेत्रको सामाजिक नक्सांकन गरेर ८ देखि १० जनाको समुह बनाउने र प्रत्येक समुहलाई क्षेत्र छुट्याएर लामखुट्टेको लार्भा सर्च एण्ड डिष्ट्रोय(खोज र नष्ट गर) कार्यको लागि परिचालन गर्ने डोटेलले बताए । ‘एउटा समुहलाई करिब सय घर जिम्मा दिने र हरेक समुहले आफुलाई तोकिएको क्षेत्रभित्रको प्रत्येक घरमा पुगेर लार्भा खोजी गरेर नष्ट गर्ने योजना बनाउनुपर्छ,’कार्ययोजना प्रस्तुत गर्दै डोटेलले भने,‘यसको लागि उत्तरदायि संस्था र व्यक्ति भनेको स्थानीय तह, संघसंस्थाहरु, राजनीतिक दल र जनप्रतिनिधिहरु हुन् ।’

यसैगरी, स्कुल र क्याम्पसहरुको सुची तयार गरेर स्वास्थ्यकर्मीहरुले जनचेतना जगाउन प्रत्येक स्कुलमा कक्षा ८ दखि १० गतेसम्म विद्यार्थीहरुलाई डेंगु बारेमा कक्षा सञ्चालन गर्ने र स्कुल अनुगमनको योजन बनाइने भएको छ । यो कामको लागि शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय र उपमहानगरपालिका जिम्मेवार हुनुपर्ने कार्ययोजनामा उल्लेख छ । यस्तै, प्रत्येक स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति पहिचान गर्ने र स्वास्थ्य संस्थाहरुले ज्वरोको विरामीहरुको दैनिक रिपोर्ट लिएर निर्देशनालय र सामाजिक विकास मन्त्रालयमा पठाउने पनि उल्लेख छ । निर्देशनालयले तयार गरेको कार्ययोजनामा घरभेट भइसको क्षेत्रमा फगिङ गर्ने, अस्पतालहरुसँग समन्वय बैठक गर्ने र एक समिति बनाएर प्रजिअहरुले नियमित अनुगमन गर्ने पनि उल्लेख छ ।

IMG_8431

वृहत अन्र्तक्रियापछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेती,धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीलगायत सरोकारवालाहरुबीच कार्ययोजना कार्यान्वयनबारे बैठक भएको थियो । कार्ययोजना अनुसार डेंगु नियन्त्रणको अभियानलाई कार्यान्वयन गर्न धरानमा शुक्रबार बैठक राखिएको कार्यवाहक प्रमुख भण्डारीले बताइन् । ‘नगरपालिकाले नगरस्तरमा, वडा र टोलस्तरमा समिति बनाएर परिचालन गछौं,’उनले भनिन्,‘प्रत्येक टोलमा बनेको युनिटमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि परिचालन गछौं ।’

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको व्यवस्थापन प्रदेश सरकारले गर्ने पनि उनले बताइन् । गत बैशाख ३१ गते देखिएको डेंगु धरानमा नियन्त्रणमा नआएपछि जिल्ला स्वास्थ्य कार्यालयले बुधबार धरानलाई डेंगु प्रभावित क्षेत्र घोषणा गरेको थियो । धरानमा मात्र ५ सय बढी डेंगु संक्रमितहरुको संख्या पुगिसकेको छ ।

IMG_8437 IMG_8434 IMG_8436 IMG_8438