झापा: झापाका किसानलाई यो वर्ष डीएपी मलको अभाव हुने भएको छ । धान रोप्न तयारी गरिरहेका किसानले अहिलेसम्म डीएपी मलको जोहो गर्न सकिरहेका छैनन् । मल विक्री केन्द्रहरुबाट किसान रित्तो हात फर्किरहनु परेको छ ।

कृषि सामग्री केन्द्र बिर्तामोडका अनुसार धान रोप्ने सिजनमा डीएपी मलको अभाव हुने भएको हो । यूरिया र पोटास पर्याप्त भएपनि डीएपी पर्याप्त नभएको कार्यालय प्रमुख कमल पोखरेलले जानकारी दिए । उनले बिर्तामोड शाखामा हाल ३ हजार बोरा यूरिया, १३५० बोरा पोटास र २०१५ बोरा डीएपी रहेको बताए । धेरै मात्रामा प्रयोग गर्नुपर्ने डीएपीको अभाव भएपछि किसान चिन्तित भएका छन् ।

कृषि सामग्री केन्द्र बिर्तामोड शाखाका प्रवन्धक पोखरेलका अनुसार धानको सिजनमा यूरिया र पोटासको अभाव हुने छैन । उनले भने,'डीएपीमा राष्ट्रव्यापी समस्या छ ।' विरगञ्ज र विराटनगरबाट मल आयात गर्ने गरिएको उनको भनाई छ । विराटनगरमै डीएपी नभएकाले झापामा पनि अभाव हुने भएको हो ।

बिर्तामोड कार्यालयबाट झापाको १५ वटै स्थानीय तहमा मल पठाइने गरिन्छ । झापा सहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराईसम्म बिर्तामोडबाट मल पठाइने गरेको प्रमुख पोखरेलले जानकारी दिए । ३० हजार बोराले यहाँ धानको एक सिजन पु¥याउने बताउँदै उनले भने,'अहिलेसम्मको अवस्थामा डीएपी उपलब्ध गराउन सक्ने संभावना छैन ।' कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले मलको विक्री गर्दै आएको छ । यी दुवै संस्थानबाट अनुमति पाएका सहकारीले गाउँगाउँसम्म मल पु¥याउने भएपनि अहिले विक्री केन्द्रबाट किसानले खाली हात फर्किनु परेको छ ।