धरान: डेंगु रोग देखा परेको जिल्लामा नियन्त्रणको लागि स्थानीयस्तरमा गठन हुने टोलीलाई सुरक्षाकर्मी उपलब्ध गराउने प्रदेशस्तरीय सुरक्षा बैठकले निर्णय गरेको छ ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय विराटनगरमा भएको बैठकले स्थानीयस्तरमा गठन हुने टोलीलाई सरक्षाकर्मी गठन गर्ने निर्णय गरेको हो । बैठकमा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरु पनि सहभागी थिए । सोही बैठकले धरान डेंगु प्रकोप क्षेत्र घोषणा भइसकेकोले नियन्त्रणको लागि गठन भएको हरेक टोलीलाई सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । ‘धरानलाई केन्द्रीत गरेर निर्णय गरेका छौं, कति टोली गठन हुन्छ, त्यो अनुसार सुरक्षाकर्मीको व्यवस्थापन गछौं,’उनले भने ।

धरानमा देखिएको डेंगुको प्रकोप सुनसरीका अन्य सहरसँगै झापा र मोरङका सहरहरुमा पनि देखिएको छ । डेंगु नियन्त्रणको लागि अनेक अभियानहरु चलाएपनि सफल देखिएको छैन । डेंगु नियन्त्रणको लागि घरमा जम्मा भएको पानीमा लार्भा देखिए पोखाएर सुख्खा पार्नुपर्ने विज्ञहरुले सुझाव दिदै आएका छन् । तर, अभियानको क्रममा पुगेका घरहरुमा पानी पोखाउन अटेर गर्ने गरेको गुनासो आएपछि पानी फाल्न लगाउनको लागि प्रहरीसहितको टोली खटाउने सुरक्षा बैठकले निर्णय गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयल सुनसरीले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिसकेको छ ।