धरान: डेंगु रोग नियन्त्रणमा गर्न धरानमा टोलस्तरमा समिति बनाएर घरदैलो अभियानको तयारी भएको छ । प्रदेश सरकारले सात दिनभित्र डेंगु रोग नियन्त्रणको निर्देशनसहित कार्ययोजना तयार गरेपछि उपमहानगरपालिकाले टोलस्तरमा अभियान टोली गठन गरेर कार्यान्वयन गर्न तयारी गरेको हो ।

उपमहानगरपालिकामा शुक्रबार बसेको बैठकले सबै वडाहरुमा कम्तीमा ४ देखि ८ वटासम्म सुरक्षाकर्मीसहित अभियान टोली गठन गरेर गर्ने निर्णय गरेको छ । त्यसअघि, प्रदेशस्तरीय सुरक्षा बैठकले डेंगु नियन्त्रणको लागि गठन हुने हरेक टोलीमा सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय गरेको थियो । धरानको सर्वपक्षीय बैठकले सम्बन्धित टोलसँग नजिक रहेको वडा सदस्य संयोजक रहने गरी ९ सदस्यीय अभियान टोली गठन गर्ने निर्णय गरेको छ ।

IMG_20190614_174218

टोलीमा टोल विकास संस्थाका अध्यक्ष सह संयोजक रहनेछन् भने टोल विकास संस्थाका २ जना सदस्य, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वा स्थानीय स्वास्थ्य संस्थाका २ जना प्राविधिक, महिला स्वास्थ्य स्वयमसेविका, सशस्त्र/जनपथ वा नगर प्रहरीबाट २ जना, रेडक्रस प्रतिनिधि र टोल विकासका सचिव सदस्य सचिवकोरुपमा रहनेछन् । ‘असार १ गतेदेखि ७ गतेसम्म दैनिकरुपमा घरदैलोमा गएर जमिनदेखि छतसम्म नारा दिएर लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने र प्रत्येक घरका सदस्यहरुलाई पनि त्यो काममा लगाउछौं,’कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले भनिन्,‘हामी बजेटको तयारीमा भएकोले वडा अध्यक्ष त्यसमा ब्यस्त हुन्छन्, त्यसैले सदस्यको संयोजकत्वमा टोलस्तरमा टोली गठन गछौं ।’

IMG_20190614_174225

टोलीले अभियान सञ्चालन गरेर सबै घरमा पुगेर लार्भा नष्ट गरिसकेपछि त्यो टोलमा पानी अभाव हुन नदिने पनि बैठकको निर्णय छ । त्यसको लागि टोलीले उपमहानगरपालिकासँग समन्वय गरेर अभियान सम्पन्न भएको टोलमा पानीको व्यवस्थापन गरिने कार्यवाहक मेयर भण्डारीले बताइन् । ‘कुन कुन घरमा लार्भा नष्ट गरियो भनेर चिह्न पनि राख्छौं, अस्पतालबाट कति विरामी निको भएर घर फर्किए ? धरानको वास्तविक विरामी कति हो भन्ने तथ्यांक पनि निकाल्छौं,’उनले भनिन् । टोलीले घरदैलो अभियान गरेको घरको संख्या दैनिकरुपमा रेकर्ड राखेर वडा कार्यालयमा जानकारी गराउनेछ । टोलीले घर, पसलमा ३ दिन भन्दा बढी खुलारुपमा पानी नराख्न पनि सचेत गराउनेछ ।

IMG_20190614_174240