धरान: ग्रामिण पर्यटन प्रर्वद्धनको महत्वपुर्ण अंग बनेको होम स्टेको प्रर्वद्धन गर्ने उद्देश्यले आज(शनिबार)देखि धनकुटाको नाम्जेमा २ दिने होम स्टे महोत्सव तथा कार्यशाला गोष्ठी आयोजना हुदैछ ।

यो महोत्सव एवं गोष्ठी तारागाउँ विकास समितिले आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन संघीय सरकारका कानुनमन्त्री भानुभक्त ढकालले गर्नेछन् । महोत्सव १ नम्बर प्रदेशस्तरीय भएपनि देशभरका होमस्टे सञ्चालकहरु सहभागी हुने आयोजक समितिका अध्यक्ष एवं कार्यकारी प्रमुख नारद लुँइटेलले जानकारी दिए । ‘महोत्सव पनि भएकोले होम स्टे सञ्चालकहरुले आफ्नो होम स्टेको स्टलमा जानकारीमुलक ब्रोसर, त्यहाँको उत्पादनहरु पनि राख्नुहुनेछ,’उनले भने,‘दोस्रो दिन गोष्ठी हुन्छ । गोष्ठीमा विज्ञहरुद्धारा कार्यपत्र प्रस्तुत भएर छलफल पनि हुन्छ ।’

गोष्ठीमा पर्यटन बोर्डका पुर्व सिइओ प्रचण्डमान श्रेष्ठ र वर्तमान महानिर्देशक डण्डुराज घिमिरेले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । गोष्ठीले ग्रामिण पर्यटन प्रर्वद्धन गर्नलाई साथै १ नम्बर प्रदेशमा होम स्टेकये विकासको लागि नीति तर्जुमा तथा योजना निर्माणमा सहयोग पुर्याउने पनि अध्यक्ष लुँइलेटले बताए । ‘पश्चिम क्षेत्रको तुलनामा पुर्वको होम स्टे र पर्यटन ओझेलमा परेको छ, यो महोत्सवमा होम स्टे सञ्चालकहरु र ग्रामिण पर्यटनलाई प्रोत्साहन मिल्ने अपेक्षा छ,’उनले भने,‘गोष्ठीमा उठेका बिषय र निष्कर्षहरुलाई पर्यटन मन्त्रालयमा पेश गछौं ।’ ।

IMG_8495

महोत्सवमा १ नम्बर प्रदेशका सबै होम स्टे सञ्चालकहरुको सहभागिता रहने होम स्टे संघले जनाएको छ । संघका अनुसार १ नम्बर प्रदेशका १२ वटा जिल्लामा होम स्टे विभिन्न निकायमा दर्ता भएर सञ्चालनमा रहेको छ । संघका प्रदेश अध्यक्ष विनोद सुब्बा गुरुङका अनुसार १ नम्बर प्रदेशमा ४३ वटा निजी तथा सामुदायिक होम स्टे रहेको छ । ‘ती सबै होम स्टे सञ्चालकहरुको सहभागिता रहनेछ । मुख्य कुरा त धेरैले होम स्टे के हो भन्ने नै बुझेका छैनन्, यहाँ प्रष्ट हुनेछन्, र के गर्नुपर्ने हो ? सरकारको पनि दायित्व के हो भन्ने प्रष्ट हुन्छ,’प्रदेश अध्यक्ष गुरुङले भने ।

प्रदेश नं १ मा महिनामा न्युनतम ५ हजार रुपैयादेखि १ लाख रुपैयासम्म आम्दानी गर्ने होम स्टे सञ्चालनमा रहेको संघले जनाएको छ । होम स्टे सफल हुदा राज्यले दिन नसकेको रोजगारी स्थानीयस्तरमा आफै सृर्जना हुने र महिलाको हातमा आम्दानी पुग्ने तारागाउँका अध्यक्ष लुँइटेलले बताए । ‘राज्यले रोजगारी दिन सकेको छैन, होम स्टे ३० घरमा चल्यो भने परिवार आत्मनिर्भर हुन्छ, रोजगारी त्यही पाउछ,’उनले भने,‘राज्यले होम स्टे चलेका ठाउँमा मौलिक सँस्कृति, प्रकृति जोगाउनको लागि नीतिगतरुपमा नै व्यवस्था गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ । पर्यटकलाई २ दिन किन बसाउने हो भनेर ध्यान दिनुपर्छ ।’