ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “गर्मीका कारण झापामा १० हजार कुखुरा मरे” शीर्षकको समाचार छापिएको छ । झापाको दमक १० का मोहन बास्कोटाले १३ हजार लेयर्स कुखुरा पालेका छन् । उनले विगत ६ वर्षदेखि कुखुरा पाल्दै आएका हुन् । ६ वर्षको अवधिमा कहिल्यै गर्मीका कारण कुखुरामा समस्या आएको थिएन तर विगत तीन–चार दिनको अवधिमा उनको फार्ममा पालिएका ८ सय कुखुरा मरिसकेको उनले बताए । फार्मभित्रको वातावरण र बाहिरको वातावरण नमिलेको कारण अहिले फार्ममा पालिएका कुखुरा मर्न थालेको उनको भनाई छ । बास्कोटाको मात्र होइन । झापाको दमक नगरपालिका ९ मा रहेको पञ्चमुखी कृषि फार्ममा तीन दिनयता दुईसयभन्दा बढी अण्डा उत्पादन गरिरहेका लेयर्स जातका कुखुरा मरिसकेका छन् । मौसममा अचानक आएको परिवर्तनका कारण ह्वातै गर्मी बढेपछि कुखुरा मर्न थालेका हुन् । केहीदिन अघिसम्म पानी परेर मौसम अनुकुल थियो । तर बुधबारदेखि एक्कासि घाम लागेर अत्याधिक गर्मी बढ्यो । गर्मी खप्न नसकेपछि फार्मका कुखुरा भकाभक मर्न थालेका हुन् । फार्ममा राखिएका तापक्रम मापन गर्ने यन्त्रका अनुसार शुक्रबार मध्यान्ह ४० डिग्री पुगेको थियो । जिल्लामा तीनदिनयता ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम रहेको छ । पञ्चमुखी कृषि फार्मका सञ्चालक देवराज अधिकारीका अनुसार पहिलो दिन बुधबार ५१ वटा कुखुरा मरे । दोस्रोदिन १ सय वटा मरे भने शुक्रबार ४८ वटा मरिसकेका छन् । अन्यकेही मर्ने अवस्थामा पुगेका छन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रहरीकै सुरक्षामा खोला उत्खनन्” शीर्षकको अर्को समाचार पनि छापिएको छ । झापाको बिरिङ खोलामा प्रहरी सुरक्षामै उत्खनन् कार्य भइरहेको छ । उत्खनन्को जिम्मा पाएको अर्जुनधाराको एसयुएस कन्स्ट्रक्सनले सशस्त्र प्रहरी र जनपथ प्रहरीको सुरक्षामा उत्खनन् कार्य गरिरहेको छ । स्थानीयबासी र ठेकेदार संस्थाबीच हुनसक्ने सम्भावित झडपलाई ध्यान दिँदै प्रशासनले सशस्त्र प्रहरीका डिएसपी ओजेस ओली र नेपाल प्रहरीका इन्सपेक्टर श्रीप्रसाद राईको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । उत्खनन्स्थलमा खोलाभरि प्रहरी परिचालित गरिएको छ । सशस्त्र र जनपथ प्रहरीको टोलीले उत्खनन्को समयभरि सुरक्षा दिएको स्थानीयले बताएका छन् । प्रहरीको उपस्थितिपछि लामो समयको विवादको कारण बिरिङ खोलामा उत्खनन् गर्न गएको ठेकेदार संस्थाको टोलीले स्थानीय बासिन्दामाथि बल प्रयोग गरेर सामग्री सङ्कलन गरेको हो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “वडा कार्यालयमा चोरी” शीर्षकको समाचार छापिएको छ । सप्तरीको राजविराज नगरपालिकाको वडा नम्बर ५ कार्यालयमा शुक्रबार राति चोरी भएको छ । कार्यालयको ताला फुटाएर कम्प्युटर, प्रिन्टर र फोटोकपीका साथै दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी भएको वडाअध्यक्ष समीर झाले बताए । वडा अध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिब दुईलाख रुपैयाँ मूल्य बराबरको सरसमान चोरी भएको उनले जानकारी दिए । चोरीमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “चट्याङले आगलागी हुँदा ४ परिवारको लाखौं क्षति” शीर्षकको समाचार छापिएको छ । उदयपुरमा शनिबार बिहान परेको चट्याङ लागेर ४ घरपरिवारको धनमाल र चौपाया जलेर लाखौंको क्षति पुगेको छ । बिहान ५ बजेजस्तो समयमा हावाहुरी र वर्षासंगै परेको चट्याङले घरमा आगलागी हुन गई बेलका नगरपालिका २ त्रिवेणी टोलका राजेन्द्र उराउ, मानबहादुर कार्की र मनकुमार राईको घर जल्नुका साथै अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र सोलार प्यानल जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चट्याङको झिल्कोबाट सल्केको आगोले उराउको खरको छानो भएको काठको टाँडे घर जल्दा त्यसभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट हुनुका साथै ५ वटा हाँस र १५ वटा कुखुरा जल्दा १० लाखभन्दा बढीको क्षति भएको छ ।


त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “लहान नगरपालिकाको बजार क्षेत्रमा थुप्रिएको फोहोर अझै उठेको छैन । नगरपालिका र वडा नम्बर ४ बीच फोहोर फाल्ने स्थानका बारेमा विवाद हुँदा ३१ दिनदेखि फाहोरको डंगुर थुप्रिएर नग दुर्गन्धित बनेको छ । नगरमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिन थालेपछि जिल्ला उद्योग वाणिज्य संघले चरणवद्ध रुपमा फोहोर व्यवस्थापनका लागि गरेको प्रयास पनि हुन सकेन ।