झापा : झापाको कमल गाउपालिका ५ लखनपुरमा रंगशालाको शिलान्यास गरेको १० वर्ष पुगिसकेको छ ।

वि.स. २०६६ मा रक्षामन्त्रीको हैसियतमा रंगशालाको शिलान्यास गरेकी विद्यादेवी भण्डारी अहिले दोस्रो कार्यकाल राष्ट्रपति पदमा बहाल हुनुहुन्छ तर रंगशाला निर्माणको काम भने अघि बढेकै छैन ।
रंगशालाको नाम राष्ट्रपतिका पति मदन भण्डारीको नाममा राख्ने वा आदिवासी भन्ने विवादले निर्माण अगाडि बढेको छैन । यहि बिचमा शनिबार आदिवासी रङ्गशाला तथा स्मृती प्रतिष्ठानले झापाको दमकमा पत्रकार सम्मेलन गर्दै सरकारले आफुहरुलाई पटक पटक झुक्याएको आरोप लगाएको छ ।

रङ्गशालाको नाममा बिकल्पका बिषयमा छलफल गरेर मार्ग प्रशस्त गर्दापनि सो रङ्गशाला क्षेत्रभित्रबाटनै आदिवासी स्मृती पार्कका लागि १५ बिगाहा जग्गाको भोगाधिकार, अत्याधुनिक सुबिधासम्पन्न संग्राहलय लगायतका आफ्ना मागहरुलाई सरकारले बेवास्था गरेको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईको आरोप छ ।
प्रतिष्ठानको सनिबार बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा रङ्गशालाको नामको बिकल्पको बहश अन्त्य गर्दै प्रतिष्ठानकै नाममा नै बजेट बिनियोजन गरि रोकिएको विकासको काम अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।

छलफल चलाएकोनै महिनौ बित्दापनि कोहीपनि गम्भिर नभएको भन्दै प्रतिष्ठानले दुख ब्यक्त गरेको छ । प्रतिष्ठानका अध्यक्ष राईले आफुहरु विकासकै पक्षमा भएकाले नामको बिकल्पमा छलफल चलाएर यहासम्म आईपुग्दापनि राज्यपक्षले आफुहरुको न्यूनतम माग समेत पूरा गर्न तदारुकता नदेखाएको प्रति दुख लागेको बताए ।