ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “धरान खानेपानी आयोजनाको ब्रह्मलुट” शीर्षकको समाचार छापिएको छ । धरान १५ एभरेष्टलाइन निवासी गजेन्द्र इस्बोको धारामा पानी आउन छाडेको साता दिन भयो । पानी नआए पनि एसियाली विकास बैंक ऋण अनुदानमा सञ्चालित खानेपानी आयोजनाको २ सय २० रुपैयाँको महसुल वील भने थमाएको छ । नेपाल खानेपानी संस्थान धरान शाखाले जडान गरेकै मिटर बक्स छ । केही दिनअघि खानेपानी संस्थानले पनि १ सय १० रुपैयाँको बील थमाएको छ अर्थात् दोहोरो विलको मूल्य चुकाउनु परेको छ । दुबै बीलका आधारमा उनले २० हजार लिटर पानी पाउनु पर्ने हो । तर, २ हजार लिटर पनि पानी पाएका छैनन् । “साता दिनदेखि पानी नै ठप्प छ । कहाँबाट पानी आउनु ?” उनी भन्छन्, “दुई दुई वटा बील आएको छ ।” उनलाई अहिले लाग्न थालेको छ, एडिबीका नाममा ब्रह्मलुट शुरु भएको छ । यही समस्या कल्पना श्रेष्ठको घरमा पनि छ । उनको धारामा पनि पानी नआएको १ साता भयो ।

नगरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “मेचीनगरमा २ जना डेंगु रोगी” शीर्षकको समाचार छापिएको छ । झापाको मेचीनगरमा २ जना डेंगु रोगी फेला परेका छन् । मेचीनगर ९ स्थित खुट्टीडाँगी दुर्गाटोलमा आमा छोरामा डेंगुको संक्रमण देखिएको हो । जिल्लाको दमक, भद्रपुर, विर्तामोड, अर्जुनधारालगायतका पालिकामा ८ जना डेंगु संक्रमण फेला परेका थिए । मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार उनीहरुको उपचार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनका अनुसार पछिल्लो समय अहिलेसम्म मेचीनगरमा डेंगुका रोगी फेला परेका थिएनन् । झापामा पहिलो पटक सन् २०१२ मा काँकर भिट्टामा फेला परेको थियो । धरानमा रहेका बखत दुवैजनामा डेंगु संक्रमण देखएको बताइएको छ ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “ज्येष्ठ नागरिकलाई लौरो उपहार” शीर्षकको अर्को समाचार पनि छापिएको छ । तेह्रथुम जिल्लाका दुर्गम गाउँका ज्येष्ठ नागरिकहरु अझै स्वास्थ्यको पहुँचमा पुग्न सकेका छैनन् भन्दै छतर गाउँपालिकाले घर घर पुगेर स्वास्थ्य परीक्षण र लौरो उपहार वितरण गरेको छ । ज्येष्ठ नागरिकको सहाराको रुपमा छथर गाउँपालिकाले नेपालमै नमुना कार्यक्रम लौरो उपहारमार्फत स्वास्थ्य परीक्षण र लौरो प्रदान गरेको हो । गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकहरुको घर घरमा पुगेर निशुल्क स्वास्थ्य जाँच गरी औषधी वितरणका साथै लौरो उपहार दिन सुरु गरेको गाउँपालिकाका अधयक्ष सन्तवीर लिम्बुले बताए ।