पथरी : एकिकृत सुचना प्रणाली अर्थात कोपोमिस सम्बन्धि तालिम मोरङ्गको पथरीशनिश्चरेमा सम्पन्न भएको छ ।

गरिबी निवारण तथा सहकारी मन्त्रालयले जारी गरेको सफ्टवेयर कोपोमिस सम्बन्धि तालिम सहकारी कर्मचारी संगठन पथरी इलाकाको आयोजनामा सम्पन्न भएको हो । ३ दिनसम्म चलेको सो तालिममा पथरी शनिश्चरेका ३४ वटा सहकारी संस्थाको सहभागिता रहेको थियो । प्रत्येक सहकारीबाट १, १ जना कर्मचारीको सहभागिता रहेको तालिमको सहजिकरण पथरीमा रहेको मनकामना साकोसका व्यवस्थापक कल्याण बजगाँइले गरेका थिए ।

सहकारीमा रहेका सम्पूर्ण सेयर सदस्यहरुको पूर्ण विवरण समावेष गरिने र मासिक रुपमा बुझउनुपर्ने विवरण समेत कोपोमिसको माध्यमबाट बुझाउनुपर्ने प्रविधीलाई अझ परिस्कृत तरिकाले संचालन गर्न तालिमको आयोजना गरिएको सहकारी कर्मचारी संगठन पथरी इलाकाका अध्यक्ष गणेश राईले बताए । यो सफ्टवेयर प्रयोगमा आएपछि एक व्यक्तिले एक पालिकामा भएका एकै प्रकृतिको एकवटा सहकारीमा मात्रै सेयर सदस्य रहन पाउनेछन् । भिन्न प्रकृतिका सहकारीमा भने दुई वा दुई भन्दा वढी पनि आवद्ध हुन सकिने छ । तर एकै प्रकृतिको अन्य पालिकामा भएको सहकारीमा भने सहभागी हुन सकिने छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राईले नगरमा भएका सम्पुर्ण सहकारी र नगरपालिकाले सहकार्य गर्दै विभिन्न कार्यक्रम गर्दै अगाडि बढ्नु पर्ने बताए। स्थानिय तहमा सहकारी ऐन निर्माण हुन नसकेको प्रसंग उठाउदै नगर प्रमुख राईले संघ र प्रदेशमै ऐन नबनेको अवस्थामा स्थानीय निकायले ऐन बनाउदा पछि संघ र प्रदेशको ऐनसँग बाझिँन सक्ने भएकोले ढिलाई भएको बताए। स्थानिय निकायको सहकारी ऐन निर्माण गर्ने क्रममा मोरङ्गका १७ वटै स्थानिय तहहरुसँग समन्वय गरिने राईले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी एकीकरणको बिषयलाई जोड दिदै एकीकरण भएको खण्डमा व्यवस्थित तवरले सेवाग्राहीलाई सेवा प्रदान गर्न सकिने बताए। कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा मोरङ्ग जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचीव एकराज निरौलाले स्थानिय तहमा सहकारी ऐन तर्जुमाको क्रममा विशेष कोषको व्यवस्थापन गर्दै हरेक सहकारी गतिविधि कोषमार्फत संचालन गर्न सुझाव दिए ।

जिल्ला सहकारी संघ मोरङ्गका सदस्य योगराज पौडेल, नगरका सामाजिक बिकाश समिती संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष कपिलमणी ढकाल लगायतले शुभकामना मन्तव्य राख्दै नगरपालिका र सहकारीले हरेक गतिविधिमा समन्वय गर्नु पर्ने बताए ।

तालिममा सिकेको कुरालाई जिवनमा प्रयोग गर्दै सहकारीको आर्थिक कारोवारलाई चुस्तदुरुस्त बनाई आफ्नो क्षमता समेत अभिवृद्धिमा तालिम प्रभावकारि भएको कर्मचारी संगठनका अध्यक्ष राईको भनाई छ । अब कोपोमिसमा सबै डाटा इन्ट्री गरि कारोवार सरल बनाउने बिषय चुनौती रहेको उनले बताए।
राईका अनुसार नगरमा भएका सहकारीहरु मध्ये ५६ वटा सहकारीलाई पत्र पठाइएको भएता पनि तालिममा केही सहकारीको सहभागिता हुन सकेन । संस्थागत तालिम बाहेकको यश किसिमको तालिम प्रदेशमै पहिलो भएको दावी गरेका अध्यक्ष राईले अगामी दिनहरुमा पनि कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि यश किसिमको कार्यक्रम निरन्तर गरिने बताए ।