ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “३८ थान पासपोर्टसहित एक पक्राउ” शीर्षकको समाचार छापिएको छ । वैदेशिक रोजगारमा पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी ठगी गरिएको उजुरी श्रम तथा रोजगार कार्यालय विराटनगरमा आइरहेका बेला ३८ थान पासपोर्ट (राहदानी) सहित एकजनालाई पक्राउ गरेको छ । विराटनगरको विमानस्थलबाट कुरियरमार्फत् काठमाण्डौ पठाउने क्रममा सुरक्षा चेकजाँच गर्दा ३८ थान पासपोर्टसहित इटहरी उउपमहानगरपालिका १२ का ४५ वर्षीय विनोद खवासलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पुष्पलाल चौधरीको इटहरी ७ स्थित ट्रान्स इयर इन्टरनेशनल कुरियर सेन्टरमा काम गर्ने विनोदले काठमाण्डौस्थित क्विक एक्सप्रेसलाई पासपोर्ट पठाउने क्रममा विराटनगर विमानस्थलबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बरामद गरेको पासपोर्ट र पक्राउ परेका खवासलाई मोरङ प्रहरीले आवश्यक कारबाहीको लागि विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा पठाएको थियो ।

औजार : आजको औजार दैनिकमा “ट्रान्सफर्मर राख्ने ठाउँ नहुँदा विद्युत अनियमित” शीर्षकको समाचार छापिएको छ । धरानमा ट्रान्सफर्मर थप गर्नका लागी राख्ने ठाउँ नहुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको छ । अन्य समयमा समेत लोड धान्न धौ–धौ परिरहेको अवस्थामा गर्मि बढेपछि झनै विद्युतको माग बढेको छ । विद्युतको माग बढे अनुसार ठाउँ ठाउँमा ट्रान्सफर्मर थप गर्नका लागि विद्युत प्राधिकरण धरान वितरण केन्द्रले काम अघि बढाएपनि ट्रान्सफर्मर राख्नको लागि स्थान उपलब्ध नहुँदा समस्या समाधान गर्न जटिल भएको प्राधिकरणका धरान केन्द्र प्रमुख दिपक सापकोटाले बताए ।

त्यसैगरी आजको औजार दैनिकमा “गर्मीले ९ जना विद्यार्थी बहोस” शीर्षकको अर्को समाचार पनि छापिएको छ । अत्याधिक गर्मी बढेपछि विद्यालयहरु बन्द भैरहेको बेला मोरङको सुन्दरहरैचामा भने एक विद्यालयको ९ जना विद्यार्थी बेहोस भएका छन् । सुन्दरहरैचा नगरपालिका वडा नं. ११ मा रहेका महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरु हप्ता दिन अघिदेखि विरामी भई बेहोस हुनेक्रम जारी रहेको छ । आइतबार विरामी हुनेको संख्या ४ जनाको थियो भने सोमबारसम्म आईपुग्दा उक्त संख्या बढेर ९ पुगेको विद्यालयले जनाएको छ ।

नगरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “लोकसेवाको विज्ञापनप्रति विरोध” शीर्षकको समाचार छापिएको छ । लोकसेवा आयोगले देशभरका स्थानीय तहका लागि माग गरेको कर्मचारी आवेदनको आरक्षित सिटमा कानुनी मापदण्ड मिचेर आवेदन माग गरिएको भन्दै ताप्लेजुङमा क्रियाशील ३ राजनीतिक दलसहित ६ जातिय तथा धार्मीक संस्थाले त्यसको विरोध गरेका छन् । समानुपातिक समावेशी सिद्धान्तलाई तोडेर एकपक्षीय ढंगबाट विज्ञापन माग गरिएको भन्दै त्यसलाई सच्याउन उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गरेका छन् । सत्तारुढ दल समाजवादी पार्टी नेपालसहित संघिय लिम्बुवान मञ्च नेपाल र राष्ट्रिय जनमुक्ति पार्टिले समेत जातीय संस्थाको मागलाई ऐक्यवद्धता जनाउँदै समावेशी र समानुपातिक सिद्धान्तअनुसार संख्या तोकेर अर्को विज्ञापन आह्वान गर्न माग गरेका छन् ।