दिक्तेल : खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ –एन्फा) को सदस्यता प्राप्त भएसँगै जिल्लामा पहिलोपल्ट जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको हो । दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित प्रतियोगिता सोमबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका छन् । असार ७ गतेसम्म सञ्चालन हुने लिगको उद्घाटन खेलमा नमुना स्पोटर््स क्लब लफ्याङलाई ० का विरुद्ध १ गोल गर्दै हलेसी तुवाचुङ फुटबल क्लबले ३ अंक बटुलेको छ ।

यस्तै, सोल्मा स्पोर्टस क्लब सोल्मा र बुईपा इलाभेन स्पोर्टस टिमले बराबर ३–३ गोल गरी बराबरीमा खेल्दै समान १–१ अंक बाँडेका छन् । यस्तै, खोटाङ भगवती स्पोर्ट्स क्लबविरुद्ध ० का विरुद्ध १ गोल गर्दै खोटाङ फुटबल एकेडेमीले ३ अंक जोडेको छ । यस्तै, बाक्सिला फुटबल क्लबलाई १ का विरुद्ध ४ गोल गर्दै खारम्बु स्पोर्ट्स क्लब खार्मीले पनि ३ अंक प्राप्त गरेको आयोजकले जनाएको छ । फुटबल संघमा आवद्ध जिल्लाका १० वटा फुटबल क्लबले मात्र जिल्ला लिगमा प्रतिष्पर्धा गर्ने अवसर पाएका छन् । मंगलबार विहान बुईपा इलाभेन स्पोर्ट्स टिम र जन्तेढुंगा फुटबल क्लबबीच पहिलो खेल हुनेछ ।

प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले नगद १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । जिल्ला लिगका विजेता टिमले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने संघका अध्यक्ष राईले बताए । यसवर्ष एन्फाको अस्थायी सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट जिल्ला लिग फुटबल प्रतियोगिता गर्ने अबसर पाएको हो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई एन्फाले यसपल्ट सदस्यता दिने निर्णय गरेको हो । जिल्ला फुटबल लिग खोटाङको खेलकुदको इतिहासमा ऐतिहासिक भएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए ।
–नागरिक पूर्वेलीबाट