धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बैशाख ३१ गत यता विभिन्न जिल्लाका ६ सय ६६ जनामा डेंगु पोजेटिभ विरामी उपचारमा आएका थिए । यो संख्या सोमबार(हिजो) साँझ ५ बजेसम्मको हो ।

पोजेटिभ देखिएका ती विरामीहरु मध्ये ६ सय ५० जना उपचार पश्चात घर फर्किएको विपी प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको अस्पताल प्रशासनका अनुसार सोमबार साँझसम्म प्रतिष्ठानमा १७ जना विरामी मात्र भर्ना भएर उपचार गरिरहेका छन् । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहका अनुसार असार १ र २ गते(साँझ ५ बजेसम्म) दुई दिनमा ३५ जना मात्र पोजेटिभ विरामी देखिएको थियो । यो संख्या विगतको तुलनामा कमी हुदै गएको देखिएको डा.साहले बताए । ‘डेंगु विरामीको संख्या घट्दै गइरहेको छ । असार १ र २ गते ५ बजेसम्म २ दिनमा ३५ जना पोजेटिभ देखिए, विगतको तुलनामा संख्या कमी आउदै गएको हो,’सहायक अस्पताल निर्देशक साहले भने ।

यस्तो छ जेठ महिनाको तथ्यांक

Untitled-2 6

जेठ १ गतेदेखि ३२ गतेसम्म विपी प्रतिष्ठान धरानमा कुल १३१७ जना धरानेहरुको डेंगु परीक्षण भएको थियो । ती मध्येमा ७२८ जनाको नेगेटिभ रिपोर्ट आयो भने ५८९ जनाको रिपोर्ट पोजेटिभ थियो ।

डेंगुको पोजेटिभ रिपोर्ट आउकामध्ये जेठ महिनामा मात्र २६३ जना धरानको वडा नं १५ का विरामी हुन् । त्यसपछि, सबैभन्दा बढी वडा नं ८ का ६६ जनामा पनि डेंगु पोजेटिभ आएको थियो । डेंगुको प्रकोप बढी देखिएका यी दुई वडालाई उपमहानगरपालिकाले डेंगु संकटग्रस्त वडा घोषणासमेत गरेको थियो ।

प्रतिष्ठानको तथ्यांक अनुसार धरानका २० ठेगाना भएका मानिसमा डेंगु पोजेटिभ देखिएको छ । वडा नं २० का ५ जनाको परीक्षण हुदा एक जनामा पोजेटिभ देखिएको तथ्यांक छ । यस्तै,वडा नं ३ का ३२ जना, वडा १० का २९ जना, वडा ५ का २४ जनामा पनि डेंगु पोजेटिभ देखिएको छ । तथ्यांकमा वडा नं १८ मा ३४ जना पोजेटिभ देखिए पनि वास्तविक वडाबासी डेंगु पोजेटिभ विरामी एक जना मात्र भएको वडा नं १८ का अध्यक्ष प्रविण राईले जानकारी दिए ।

विपी प्रतिष्ठान पनि वडा नं १८ मा नै पर्ने भएकोले त्यहाँ क्वार्टरमा रहेका पाजेटिभ विरामीको ठेगाना वडा १८ नै भएकोले यो बढी तथ्यांक देखिएको उनले बताए । 'मेरा वडामा ३४९ घरपरिवार मात्र छन्, हामी प्रत्येक घरमा पुगेका छौं, एक जनालाई मात्र डेंगु पोजेटिभ देखिएको हो,'अध्यक्ष राईले भने,'विपी प्रतिष्ठान पनि यही वडामा भएकोले त्यहाँका डेंगु पोजेटिभलाई पनि यो वडाको भनेर ठेगाना लेखिएको हो, तर वास्तविक वडाबासी १ जनामा मात्र डेंगु पोजेटिभ हो ।'  वार्ड नम्बर नखुलेका २९ जनामा पनि डेंगु पोजेटिभ भएको जेठ महिनाको तथ्यांकमा छ ।

२० देखि ३० बर्षमा धेरै पोजेटिभ

4 10

विपी प्रतिष्ठानमा जेठ महिनामा धरानसहित विभिन्न जिल्लाका १५२८ जनाको डेंगु परीक्षण भएको थियो । तीमध्ये ६३१ जनामा पोजेटिभ रिपोर्ट आएको थियो । रिपोर्ट पोजेटिभ आउनेमा सबैभन्दा बढी २० देखि ३० बर्ष उमेर समुहका छन् । प्रतिष्ठानको तथ्यांक अनुसार यो उमेर समुहमा १७६ जना पोजेटिभ छन् ।

यस्तै, १० देखि २० बर्ष उमेरका १४३ जनामा पोजेटिभ रिपोर्ट छ भने ३० देखि ४० बर्षको उमेर समुहका १०८ जनामा पोजेटिभ रिपोर्ट छ । ४० देखि ५० बर्ष उमेर समुहका विरामी ७२ जना, १० बर्षसम्मका बालबालिकामा ६५ जना, ५० देखि ६० बर्ष उमेरका ४४ जना र ६० देखि ७० बर्षका २१ जनामा डेंगु पोजेटिभ देखिएको छ । सबैभन्दा कम ७० देखि ८० बर्ष उमेर समुहका २ जनामा डेंगु पोजेटिभ छ ।