धरान: वंगलादेशको ढाकामा यही जुलाई ३ देखि ५ सम्म आयोजना हुन लागेको तेस्रो साउथ एशियन यु १६ वास्केटवल च्याम्पियनसिपमा नेपालको राष्ट्रिय टोलीको नाम घोषणा भएको छ । उक्त टोलीमा धरानका एक युवा खेलाडी पनि छनौट हुन सफल भएका छन् ।

उमेर समुह यु १६ को नेपाली राष्ट्रिय टिममा धरानका वैभव योगी पर्न सफल भएका हुन् । खेलाडी छनौटको लागि धरानबाट ४ जना खेलाडीहरुलाई सुनसरी बास्केटवल संघले सिफारिश गरेको थियो । बास्केटवल ट्यालेन्ट हन्ट कार्यक्रमबाट योगेश राई, लाक्पा शेर्पा, वैभव योगी र रुपेश राईलाई छनौट गरि संघले यु १६ छनौटमा पठाएको थियो । ती मध्ये वैभव राष्ट्रिय टिममा पर्न सफल भएको प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए ।

IMAG3782_1

नेपाल बास्केटवल संघले वैकल्पिक ३ खेलाडीसहित आज मंगलवार १५ जनाको नाम घोषणा गरेको छ । छनौट भएका १२ जना खेलाडीहरुमा सुनसरी(धरान)का वैभवसहित सम्कत पुलामी (हुम्ला), क्षितिज थिन्ले (हुम्ला), निराजनकुमार यादव(महोत्तरी), आदर्श बस्नेत (कास्की), सोनाम शेर्पा, कुसल शाक्य (ललितपुर), अंकित मुनिकार(काठमांडौ), कुङ्गा गुरुङ्ग(काठमांडौ), सागर तामाङ्ग(नुवाकोट), प्रशन्न तामाङ्ग(सिन्धुपाल्चोक) र पेम्वा शेर्पा (सिन्धुपाल्चोक) रहेका छन । यस्तै, वैकल्पिक खेलाडीहरुमा भविन राई सुनसरी, स्वरुपराज सेदाइ चितवन र रौनक शाह सिराहाका छन् ।

राष्ट्रिय टिममा छनौट भएको १२ जनालाई विशेष प्रशिक्षणका लागि शुक्रवार देखि वन्द प्रशिक्षणमा राखिने नेपाल बास्केटवल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । नेपाल टिम छनौटका लागि संघले काठमाडौमा सम्पन्न यु १६ प्रतियोगिताबाट ५० जना र सुनसरी धरानको बास्केटवल ट्यालेन्ट हन्ट कार्यक्रम वाट ४ जना खेलाडी गरि ५४ जनालाई क्यम्पमा राखेर छनौट गरेको हो । पहिलो चरणमा ५४ खेलाडीबाट २४ जना, २४ वाट १५ जना र १५ वाट १२ जना छनौट गरेको हो ।