ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “नक्सा पासका लागि हारगुहार गर्दै कृष्णदास” शीर्षकको समाचार छापिएको छ । चतरनमन धार्मिक गुरु कृष्णदासले सुनसरी–मोरङ सिंचाइ आयोजनाको करिब १३ बिघा जग्गा कब्जा गरेर ८ करोड रुपैयाँको लागतमा १ सय २८ कोठे भवन निर्माण गरे । नक्सापाससमेत नगरी अवैध संरचना निर्माण गरेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अप्ठयारोमा परेका कृष्णदास बराहक्षेत्र नगरपालिकाको ढोका ढक्ढक्याउन पुगे । तर बराक्षेत्र नगरपालिकाले मापदण्ड नपुर्याई बनाइएको भवन निर्माण सम्पन्न प्रमाणपत्र दिन अस्वीकार गरेपछि अहिले कृष्णदास विलखबन्दमा परेका छन् । “सरकारी जग्गामा भवन निर्माण गरेका कृष्णदासलाई बराहक्षेत्र नगरपालिकाले भवन सम्पन्नताको प्रमाणपत्र दिने कुरै भएन”–बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले भने । निर्माण शुरु गर्दा कृष्णदासले स्थानीय तह, बराहक्षेत्र नगरपालिकाको घर नक्सा शाखा र प्राविधिकलाई कुनै जानकारी नदिई आफुखुशी बनाएका थिए । उनले भवन निर्माण गरेर राष्ट्रपतिबाट गत फागुन २७ गते उद्घाटनसमेत गराएका थिए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “क्याम्पसमा लामो गर्मी विदा दिएपछि तोडफोड” शीर्षकको समाचार छापिएको छ । परिक्षा नजिकिदै गर्दा क्याम्पसले एक महिना लामो गर्मी विदा दिएपछि मंगलबार विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय को आंगिक क्याम्पस स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी पुसेटमा तोडफोड भएको छ । विद्यार्थीको परीक्षा आवेदन फाराम खुलेको समयमा क्याम्पसले एक महिना लामो गर्मी विदा दिने निर्णय गरेपछि आक्रोशित बनेका विद्यार्थीहरुले क्याम्पस प्रमुख मनोजकुमार हलुवाईको कार्यकक्ष तोडफोड गरेका हुन् । क्याम्पसले सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन र इनिजनियरिङलगायतका शैक्षिक कार्यक्रम अध्यापन गराउँदै आएको छ । ती शैक्षिक कार्यक्रमको दोस्रो, तेस्रो, छैटौँ सेमेस्टारको परीक्षा आवेदन फाराम भर्ने समय छ । तर विद्यार्थीहले परीक्षा फारा मभर्ने समयमा क्याम्पसले सोमबार एकमहिने गर्मी विदा दिएको सूचना प्रकाशित गरेको थियो ।

औजार : आजको औजार दैनिकमा “खानेपानीको निर्वाचन अविलम्ब गर्न माग” शीर्षकको समाचार छापिएको छ । धनकुटा नगरपालिका धनकुटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन स्थगित गरेकोमा नेपाली कांग्रेस धनकुटाले विज्ञप्ती प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको भन्दै आपती जनाएको छ । उपझोक्ता समितिले समय भित्रनै विधान सम्मत तरिकाले निर्वाचन प्रक्रिया अगाडि बढाईरहेको अवस्थामा खानेपानी जस्तो अतिसंवेदनशील र अति महत्वपूर्ण विषयमा समेत राजनीतिकरण गरी पूर्वाग्राही ढंगबाट निर्वाचित स्थगित गरेको भन्दै नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईद्वारा प्रकाशित गरिएको विज्ञप्तिमा अभिलम्ब स्थगित गरिएको निर्वाचन गर्न समेत माग गरिएको छ ।