इटहरी: विराटनगरको रानीदेखि तरहरासम्म निर्माण भईरहेको ६ लेन सडक जताजतै जोखिमपुर्ण बनेको छ ।

सडक निर्माणको कामले गति लिएपनि सामान्य बर्षात हुदा पानी जम्ने गर्छ भने सडकको बीचमा भएको बिजुलीको पोल हटाउन ध्यान नदिदा आम जनताले जोखिम मोल्नु परेको स्थानीयबासी बताउँछन् । सडक निर्माणमा लापरवाही भएको जनताको गुनासो छ । सडक निर्माणको क्रममा बिजुलीको पोल नसारिएको र सामान्य पानी पर्दा नै सडकमा जम्मा हुदा निर्माणाधिन सडकमा जोखिमयुक्त भएको स्थानीय रमेश श्रेष्ठले बताए । 'मानिसहरुले फोहोर सडकको ड्रेनमा नै फाल्छन्, त्यसले गर्दा पानी जमेको छ,'उनले भने,'६ लेन सडकको कामले पूर्णता नपाउदा आमजनता जोखिममा छन् ।' उनले पानीमा फोहोर फाल्ने गरेको र यसप्रति सम्बन्धित निकाय बेखबर रहेकोप्रति गुनासो गरे ।

स्थानीय भानु दाहालले पनि सडकको काममा लापरबाही भएको आरोप लगाए । उनले भने,'विद्युत प्राधिकरणले बिजुलीको पोल सारेको छैन, अहिले सडकमा पानी जम्दा पनि समस्या बढेको छ ।' दाहालका अनुसार सडकको काम सुस्त हुनु र मुख्य बजार क्षेत्रमा नै जाने बाटो अबरुद्ध भईरहन्छ । 'बिरामी बोकेर आउँने एम्बुलेन्स, आगलागी हुँदा दमकल र प्रहरीको गाडी पनि नछिर्ने गरी मुख्य बाटो बन्द छ,'दाहालले भने,'काम द्रूत गतिमा र राम्रो तरिकाले हुन आवश्यक छ ।' स्थानीय व्यापारी तथा दूध बोकेर आउने मानिसहरुले नालामा बोतल फाल्नाले पनि दुगन्र्ध फैलिएको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक भएको उनले बताए ।

2 9

यता, सडक विभागका इन्जिनियर सागर बडालले कालोपत्रेलाई सकाउने काममा तीब्रता दिएको भएपनि काम सोचेजस्तो नभएको बताए । 'अहिले सडकको कालोपत्रेगर्ने काममा बिजी छौँ,'उनले भने, 'दुई, तीन ठाउँमा ठूला खाल्डा भएर समस्या देखेँ, यसको समाधान तत्काल गरिनेछ ।' उनले बिद्युत प्राधिकरणले पोलको काम हटाउने काम गरेको भएपनि हाइटेन्सनको पोल भने नहट्ने भएकाले ज्यादै समस्या रहेको सुनाए । 'अब तरहराको केही ठाउँमा मात्र पोल हटाउन बाँकी छ,तर हाइटेन्सनको पोल भने हटाउन नमिल्ने भएकाले ज्यादै समस्या छ,'उनले भने ।

इन्जिनयर बडालका अनुसार हाइटेन्सनको पोल नै सबैभन्दा ठूलो समस्याका रुपमा खडा भएको छ । आँफूले टार्गेट गरेअनुसारको काम नभएको स्वीकार गर्दै उनले दसैं अगाडि तरहराको पानीपियादेखि यातायात कार्यालयसम्म पिचको काम सक्ने तयारी भइरहेको बताए । असारभित्र १ किलोमिटर पिच सक्ने र अहिले ७ सय मिटर पिचको काम सकिएको उनले बताए । बडालका अनुसार विभिन्न चरणमा निर्माण भईरहेको सडकको उनले तीन किलोमिटर सडक निर्माण हुनुपर्नेछ । अहिले काम तीब्र गतिमा भएको भएपनि बीच–बीचमा सडकमा जोखिम रहेको स्थानीयले बताउँदै आएका छन् ।

11 3