इटहरी: गत जेष्ठ ६ गते राती पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारका ९ जनाको सामूहिक हत्यामा भागेर बाँच्न सफल भएकी १४ बर्षीया किशोरी सीता खजुमलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

रवि महाभारत समाज ललितपूरले अभिभावक गुमाएकी पीडित किशोरी खजुमलाई बुधबार इटहरी १९ मा रहेको शहीद स्मृति आवासीय विद्यालयमा पुगेर आर्थिक सहयोग प्रदान गरेको हो । केही साता अघि उक्त विद्यालयमा ९ कक्षामा भर्ना भएकी किशोरी खजुमलाई उक्त संस्थाकी सदस्य तथा ज्योती आवासीय विद्यालयकी संस्थापक निर्देशक ज्योती केसीले नगद ५५ हजार रुपैँया हस्तान्तरण गरिन् ।

सहयोग हस्तान्तरणपछि बोल्दै उनले भनिन्,‘सीतालाई प्रदेश सरकारले सहयोग गरेको भएपनि हामीले पृथक ढंगले सहयोग गरेका हौं, कक्षा १२ पछि आफ्ने करियर बनाउनका लागि उक्त रकमले सहयोग पुग्ने भएकाले हामीले उनको नाममा रकम दिएका हौं ।’ उनले अहिले विद्यालयको स्वामित्वमा उक्त रकम रहने गरि पछि पीडितको नाममा दिनुपर्ने सर्तमा ४ बर्षे मुद्धती खातामा जम्मा गर्ने बताईन् ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक शिबचन्द्र राईले आँफूहरुले विद्यार्थीको शिक्षा, लजिङ, फुडिङ र नर्सिङमा कुनै कमी नराखी काम गर्ने बताईन् । ‘हामीले शिक्षामा कुनै कमी नआउने गरि शान्त वातावरणमा अभिभावकत्व हुने गरि अध्यापन गराउँदै आएका छौँ,’उनले भने,‘आगामी दिनमा पनि स्कुलले विद्यार्थीको कियरमा कुनै कसुर बाँकी राख्नेछैन ।’ कार्यक्रममा शिक्षासेवी मणि गिरीले पाँचथरमा भएको अकल्पनीय घटनाले आँफूहरु स्तब्ध रहेको र सो घटनामा भागेर बाँच्न सफल भएकी किशोरीलाई शहीद स्कुलले अध्यापन गराउनु खुशीको कुरा रहेको बताए । ‘यो विद्यालयले जात, धर्म, लिङ्, दल भन्दा माथि उठेर अध्यापन गराउँदै आएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि विद्यालयले विद्यार्थीको भविष्य कोर्न सफल बनोस् ।’

कार्यक्रममा इटहरी १९ का वडाध्यक्ष श्री नारायण चौधरीले उक्त विद्यालयले सीमान्तकृत, पीडित र अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क रुपमा अध्यापन गराउनु सुखद् रहेको बताए । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व प्राचार्य सूर्य राईले पाँचथरमा गएको जेष्ठ ६ गते भएको घटना दुःखद् रहेको र त्यसमा अभिभावक गुमाएकी सीता जस्तै अन्य बालबालिका पनि उक्त विद्यालयमा अध्ययन गर्दै आएको बताए । यहाँको यो विद्यालयले पीडित बालबालिकाको हकहितका निम्ति काम समेत गर्दै आउनु अनुकरणीय रहेको उनको भनाई थियो । उक्त विद्यालयमा पाँचथर हत्याकाण्डबाट पीडित भएकी सीताकी बहिनी १२ बर्षीया बिना खजुम समेत सोही विद्यालयमा कक्षा ४ मा अध्ययन गर्दै आएकी छिन् ।

दुर्घटनाका घाईतेलाई पनि सहयोग

गत बैशाख ४ गते इटहरीको लक्ष्मी फर्म इण्डष्ट्रिज प्रालिमा कार्यरत कर्मचारी डिगेश्वर आङदेवेलाई पनि रबि महाभारत समाजले नगद ३० हजार रुपैँया सहयोग गरेको छ । २९ बर्षीय आङदेबेको कारखानामा मेसिन चलाउने क्रममा देब्रे हात गुमेको थियो ।

उपचारका लागि अहिलेसम्म तीन लाख रुपैँया लागत लागेको र कृत्रिम हात लगाउनका लागि अझै ५ लाख बढी लागन लाग्ने भएकाले उनलाई नगद हस्तान्तरण गरिएको थियो । उनको झापाको बिएण्ड सी अस्पतालमा उपचार भईरहेको छ । ‘अहिलेसम्म तीन लाख लागत लागेको छ, कृत्रिम हात लगाउन अझै पाँच लाख बढी लाग्ने रहेछ,’पीडित आङदेबेले भने ।