धरान:विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निर्धारित ग्राजुएट(एमबिबिएस/बिडिएस)को प्रवेश परीक्षा स्थगित गरेको छ ।

चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष एवं शिक्षामन्त्री गिरीराजमणी पोखरेलसँग प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले छलफल गरेपछि प्रवेश परीक्षा स्थगित गरेको हो । मन्त्री पोखरेलले कक्षा १२(प्ल टु) परीक्षाको रिजल्ट आउनु अघि नै प्रतिष्ठानले परीक्षा लिदा नेपाली विद्यार्थीहरु प्रवेश परीक्षामा सहभागी हुनबाट बञ्चित हुने भन्दै चासो व्यक्त गरेका थिए । मन्त्री पोखरेलसँगको छलफल पछि नेपाली विद्यार्थीहरुलाई प्रवेश परीक्षाबाट बञ्चित हुन नदिन प्रतिष्ठानले परीक्षा स्थगित गरिएको उपकुलपति डा.रौनियारले बताए । ‘अर्को सुचना नआएसम्मलाई परीक्षा स्थगित गरिएको छ, प्लस टुको रिजल्ट आएपछि मिति तोकिन्छ,’उनले भने ।

प्रतिष्ठानले प्रोस्पेक्टस प्रकाशित गरेर प्रवेश परीक्षाको मिति समेत निर्धारण गरिसकेको थियो । विद्यार्थीहरुले प्रवेश परीक्षाको फारम पनि भरिसकेका थिए । फारम भरिसकेका विद्यार्थीहरुलाई पनि पछि मान्यता दिइने प्रतिष्ठानले जनाएको छ । ग्राजुएट(एमबिबिएस/बिडिएस)को प्रवेश परीक्षा स्थगित गरेपनि पोष्ट ग्राजुएट(एमडि/एमडिएस/एमएस)को प्रवेश परीक्षा भने निर्धारित मिति(असार ७ गते) शनिबार नै हुने प्रवक्ता डा.अशोक ऐरले बताए ।

bp