दिक्तेल : कालोपत्रे गरिएको खोटाङको लामीडाँडा विमानस्थलमा हिजो सफल परीक्षण उडान गरिएको छ ।

स्तरोन्नति गरिएसँगै रावाबेँसी गाउँपालिका–३, लामीडाँडामा रहेको विमानस्थलमा हिजो समिट एयरलाइन्सको विमानले सफल परीक्षण उडान गरेको हो । कुल ५६० मिटर लम्बाइ भएको विमानस्थलको धावनमार्गमा ५२० मिटर लम्बाइ र २० मिटर चौडाइमा कालोपत्रे गरिएपछि विमानस्थलमा र्बाहैमास उडान हुने भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणको ६ करोड ३४ लाखको लगानीमा एकैसाथ दुई वटा विमान पार्किङ गर्न मिल्नेगरी कालोपत्रे गरिएको प्राधिकरणका विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले बताए ।

विमानस्थल कालोपत्रे गरिएपछि गाउँपालिकाले विमानस्थलमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा परीक्षण उडान कार्यक्रम राखिएको थियो ।