ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सुकर्ममा लाखौ हिनामिना, व्यवस्थापक फरार” शीर्षकको समाचार छापिएको छ । झापाको वुद्धशान्ति गाउँपालिका ३ बुधबारेस्थित सुकर्म सहकारी बचत तथा ऋण सहकारी संस्था लि. मा ७४ लाख रुपैयाँ हिनामिना भएको खुलेको छ । बचतकर्ताहरुले जम्मा गरेको रकम सहकारीका व्यवस्थापकहरुको मिलेमतोमा हिनामिना भएको हो । बचतकर्ताले जम्मा गरेको रकम लिएर सहकारीका संस्थापक व्यवस्थापक मोरङको पथरीशनिश्चरे घर भई बुधबारेमा बस्दै आएका राजेस लिम्बु फरार भएका छन् । १ सय ६० जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी १ करोड २३ लाख रुपैयाँ रहेको थियो भने ऋण लगानी ३५ लाख रुपैयाँ गरेको सहकारीले जनाएको छ । बचत भएको रकम लिएर सहकारीका संस्थापक व्यवस्थापक लिम्बु गत माघ १९ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “गाउँपालिकाबाटै फुपू–भदैनीलाई घर निकाला” शीर्षकको अर्को समाचार पनि छापिएको छ । पाँचथरको कुम्मायक गाउँपालिका ४ रानीगाउँमा एकै घरमा बस्दै आइरहेका फुपू भदैनीलाई गाउँपालिकाले घरनिकाला गरेको छ । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ नेतृत्वको टोलीले उनीहरुलाई घरनिकाला गरेको हो । सार्वजनिक जग्गामा घर बनाएर बस्दै आएका गीतामायाँ सम्बाहाम्फे र विष्णुमायाँ लिम्बुलाई घरनिकाला गरिएको हो । सार्वजनिक जग्गामा घर बनाएर बस्दै आएका गीतामायाँ सम्बाहाम्फे र विष्णुमायाँ लिम्बुलाई घरनिकाला गरिएको हो । सार्वजनिक जग्गामा गीतामायाले घर बनाएकी थिइन् । नाताले भदैनी पर्ने गीताले बनाएको घरमा फुपू विष्णुमाया पनि बस्दै आएकी थिइन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “क्षतिपूर्ति बुझाउन ताकेता” शीर्षकको समाचार छापिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरका डा. पुरु कोइरालालाई कबुलियतनामा अनुसार क्षतिपूर्ति बुझाउन ताकेता गरेको छ । प्रतिष्ठानले छाती रोग विशेषज्ञ अध्ययन गर्नका लागि तीनवर्ष अध्ययन विदा उपलब्ध गराएको र अध्ययनपश्चात प्रतिष्ठानमा कम्तिमा ५ वर्ष सेवा दिनुपर्ने वा सेवा पुर्याउन नसक्दाप्रतयेक वर्ष तिनुपर्ने रकम भनी गरिएको कबुलियतनामा अनुसार रकम बुझाउन ताकेता गरेको हो । प्रतिष्ठानले सार्वजनिक सुचना जारी गरी उनलाई एक करोड ६७ लाख ५० हजार रुपैयाँ बुझाउन अन्तिम पटक सूचना गरिएको जनाएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “सिट संख्या बढाउन उपकुलपतिको माग” शीर्षकको समाचार छापिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियारले एमबीबीएस पढ्ने विद्यार्थीको लागि सिट संख्या बढाइदिन माग गरेका छन् । २ सय ५० जना विद्यार्थी पढाउन सक्ने क्षमता भएको प्रतिष्ठानमा १ सय जना विद्यार्थी मात्र पढाउन पाउने गरी कोटा तोकिएपछि उनले सिट संख्या बढाइदिन माग गरेका हुन् । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति प्राडा रौनियारले प्रतिष्ठानमा एमबीबीएसको सिट संख्या २ सय ५० पुर्याउन माग गरेका हुन् ।