धरान: धनकुटाको चुलीवनबाट पनि प्याराग्लाइडिङको सफल परीक्षण भएको छ ।

साहसिक खेल पर्यटनअन्र्तगतको प्याराग्लाइडिङको आज सफल परीक्षण भएको हो । धनकुटा नगरपालिका ७ र ८ मा पर्ने चुलीवनबाट धरानका पाइलट राम राईले परीक्षण उडान गरेका थिए । एक्स्ट्रीम धरानका सचिव तथा बुढासुब्बा प्याराग्लाइडिङ प्रालिका सञ्चालक राईले चुलीवनबाट टेण्डम उडान गरेका थिए । उनले स्थानीय नविन केसीलाई उडाएका थिए । पर्यटकीयस्थल चुलीवनबाट भएको उडान वडा नं ८ स्थित तमोर किनारको याक्चना घाटमा सफल अवतरण भएको थियो ।

dkt-paragliding

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले प्याराग्लाइडिङको परीक्षण सफल भएकोमा खुशी व्यक्त गर्दै व्यवसायिक उडानको लागि निजी कम्पनीहरुलाई आह्वान गरिने बताए । ‘अब यो ठाउँमा पुर्वाधार विकास गर्ने र व्यवसायिक उडानको लागि निजी क्षेत्रलाई बोलाउने योजना छ,’उनले भने । गत बर्ष पनि चुलीवनबाट परीक्षण उडानको तयारी भएको थियो । तर, मौषम अनुकुल नभएपछि त्यो बेला उडान हुन सकेको थिएन ।

धनकुटा नगरपालिकाले चुलीवनबाट प्याग्लाइडिङ उडान गरेर याक्चना घाटमा पर्यटकलाई अवतरण गराउने र त्यहाँबाट र्याफटिङमार्फत पुनः मुलघाटसम्म पुर्याउने योजना बनाएको छ । यसको लागि प्याराग्लाइडिङ र र्याफिट्ङका निजी कम्पनीसँग सहकार्य गर्ने नगरपालिकाको योजना छ ।