धरान: नेपाली कांग्रेस धरान उपमहानगर कमिटिको निवार्चितबाहेक पदाधिकारी, सदस्य र सल्लाहकारहरु बिघटन गरिएको छ ।

भर्खर मात्र एक महिने जनजागरण अभियान सम्पन्न गरेको कांग्रेसले संगठनलाई चुस्तदुरुस्त र अझ वलियो बनाउनको लागि पुर्नगठन गर्ने तयारी स्वरुप मनोनित पदाधिकारी, आमन्त्रित सदस्य र सल्लाकारहरुलाई विघटन गरेको हो । निवार्चितबाहेक अन्यलाई विघटन गर्ने अधिकारको प्रयोग गर्दै कांग्रेस नगर सभापति तिलक राईले आज विघटन गरेका हुन् । तर, उनले यो एकल निर्णय गरेको नभई पार्टी कमिटिसँग आवश्यक छलफल गरेर नै निर्णय गरिएको बताए । ‘पार्टीलाई अझै चुस्तदुरुस्त बनाउनको लागि पुर्नगठन गर्नुपर्ने आवश्यकता देखियो, कतिपय साथीहरु काम बिशेषले, अध्ययन र जागिरको सिलसिलाले बैठकमा अनुपस्थित रहने भएकोले यो निर्णय गरिएको हो,’सभापति राईले भने,‘चाडै सक्रिय साथीहरुलाई समेटेर पार्टीलाई नयाँ ढंगले अघि बढाइनेछ ।’

कांग्रेस नगर समितिमा सभापति, सचिव र कोषाध्यक्षसहित ११ जना मात्र निवर्चित हुन्छन् । कार्यविभाजन अनुसार निवार्चितबाहेकका जिम्मेवारी पाएकाहरु पनि आजदेखि हटेका छन् । कांग्रेस धरानको सभापतिमा पराजित भएका किसोर राईलाई वरिष्ठ सदस्यमा मनोनित गरिएको थियो भने अन्य ८ जना मनोनित थिए । यस्तै,सल्लाहकार र आमन्त्रित सदस्यसमेत गरेर ५२ जनाको कमिटि थियो । समितिमा एक उपसभापति, एक सचिव र सहसचिव पनि मनोनित भएका हुन्छन् । पदाधिकारीको जिम्मेवारीमा मनोनित भएकाहरु पनि आजदेखि सबै हटेका छन् । ‘बैठकमा अनुपस्थित रहिरहने साथीहरुको कारण समस्या थियो, उहाँहरुलाई धन्यवाद सहित विदाई गरियो, अब चाडै सक्रिय साथीहरुलाई राखेर पार्टी पुर्नगठन हुनेछ,’कांग्रेसका एक नेताले भने ।