ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “तरकारीको मूल्य दोब्बर” शीर्षकको समाचार छापिएको छ । ठीक तरिकाले तरकारी आपूर्ति नहुँदा बजारमा तरकारीको मूल्य दोब्बर बढेको छ । सोचेअनुरुप स्थानीय उत्पादन नहुँदा र बाहिरबाट भनेजस्तो तरकारी आपूर्ति नहुँदा बजारमा तरकारीको भाउ ह्वात्तै बढेको छ । तरकारीको मूल्य अघिल्लो वर्षको तुलनामा दोब्बर नै भएको व्यापारी आफै बताउँछन् । स्थानीय उत्पादन नहुँनु बाहिरबाट महँगो मूल्यमा तरकारी आपूर्ति हुदा महँगिएको ब्यापारी चन्दनलाल शाहले बताए । यो समयमा तरकारी बढी खपत हुने गरेको उनी बताउँछन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “मदिरा खुवाएर बलात्कार” शीर्षकको अर्को समाचार पनि छापिएको छ । जुस भनी झुक्याएर मदिरा खुवाई १९ वर्षीया एक युवतीलाई बलात्कार गरिएको छ । मोरङको केराबारी गाउँपाििलकास्थित गुराँस होटलमा गत जेठ ३१ ग्ते पथरीशनिश्चरेकी १९ वर्षीय युवतीलाई जुस भनी झुक्याएर मदिरा खुवाई बलात्कार गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा वाइन खुवाएर युवतीलाई बलात्कार गरेको खुलेको छ । बलात्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बेलबारीले तीन युवालाई पक्राउ गरेको छ । किशोरीलाई बलात्कार गर्नेसहित अन्य दुई जना सहयोगीलाई प्रहरीले नियन्त्रणमा लिएको इप्रका बेलबारीले जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “पूविका तीन पदाधिकारी पदमुक्त” शीर्षकको समाचार छापिएको छ । पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले आफैले नियुक्त गरेका तीन पदाधिकारीलाई न्यूनतम योग्यता र अनुभव नपुगेको भन्दै पदमुक्त गरेको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलद्वारा गठित उच्चस्तरिय छानविन समितिको प्रतिवेदनका आधारमा कार्यकारी परिषदले तीन पदाधिकारीलाई गत सोमबारदेखि लागु हुने गरी पदमुक्त गरेको पूवि स्रोतले जनाएको छ । यसरी पदमुक्त हुनेहरुमा सहरजिस्ट्रार राजेशकुमार झा, चिकित्साशास्त्र संकायकी सहडिन दिप्ती सुब्बा र सहपरिक्षा नियन्त्रक मेनुका श्रेष्ठ रहेका छन् ।

औजार : आजको औजार दैनिकमा “श्रीलंका टापुवासीको अवस्था नाजुक” शीर्षकको समाचार छापिएको छ । सुनसरीको बराहक्षेत्र, नगरपालिका ६ र ९ मा पर्ने कोशी नदिले घरिएको जिल्लाको विकट ठाउँ श्रीलंकाटापुमा शिक्षा, स्वास्थ्य र खाद्यको अवस्था नाजुक रहेको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश एक नम्बर कार्यालय विराटनगरले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोग १ नम्बर कार्यालय विराटनगरले विहीबार गरेको अनुगमनको क्रममा स्थानीयहरुसँग गरिएका छलफलका क्रममा श्रीलंका टापुवासीको शिक्षा, स्वास्थ्य र खाद्यको उपभोगको अवस्था नाजुक रहेको पाइएको आयोग १ नम्बर प्रदेश प्रमुख मोहनदेव जोसिले बताए ।