काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ ।

बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो । चिनियाँ पक्षले राखेका पाँच बुँदामध्ये पहिलोमा पूर्वसम्भाव्यता अध्ययनको गुणस्तर कायम गर्नेबारे गहन अध्ययन जरुरी भएको उल्लेख छ । चिनियाँ पक्षले नै पूर्वसम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ ।

यसमा विशेषगरी प्राविधिक अध्ययन अनुसन्धानको खाँचो चिनियाँ पक्षले औंल्याएको छ ।  दोस्रो बुँदामा इन्जिनियरिङ पक्षका चुनौती कसरी सामना गर्ने भन्नेमा तयारी हुनुपर्ने र तेस्रो बुँदामा भौगर्भिक प्रकोपबाट उत्पन्न चुनौती न्यूनिकरण कसरी गर्ने भन्ने विषयमा गहन अध्ययन हुनुपर्नेमा जोड दिएको छ ।

–नागरिक दैनिकबाट