धरान:नगर गौरवको आयोजनामा समावेश गरेर निर्माण शुरु भएको धरान १६ स्थित जनपथ सडक हिजो बिहिबार बिहान परेको बर्षाले खोलाको बगरमा परिणत भएको छ ।

सडक विस्तार एवं निर्माण कार्यमा ढिलाई भएपछि सडकको वेहाल अवस्था भएको हो । हिजोआज पानी पर्यो कि यो सडकको वेहाल हुन्छ । सडकको अवस्थाले आजित बनेका स्थानीयले सत्यतथ्य छानबिन गर्न र आवश्यक कारबाही गर्न पनि माग गरेका छन् । वडा १६ का उमेश याक्खा जिमीले सामाजिक सञ्जाल फेसबुकमा जिम्मेवारी दिएर पठाएको वडा नं १६ का जनप्रतिनिधिहरु दिनमा १०० औं पटक यही सडक प्रयोग गर्ने भएपनि वास्ता नगरेको टिप्पणी गरेका छन् । साथै उनले सत्यतथ्य छानबिन गरी चाडो भन्दा चाडो सम्बन्धित पक्षसम्म पुर्याई आवश्याक कारबाहीको पनि उनले माग गरेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो सडकलाई विस्तार गर्न थालिएको थियो । तर, जनप्रतिनिधि आएपनि काम गर्ने शैलीमा कुनै परिवर्तन आउन सकेको छैन । विकासको कामहरु बर्षदिनसम्म नगर्ने र बजेट सक्ने मात्र हतारोमा आर्थिक बर्ष सकिन लाग्दा असारमा मात्र काम गर्ने चलन जनप्रतिनिधि आएपछि पनि उस्तै छ । यही कारण धरानमा नगरको गौरवको आयोजनाको काम पनि प्रभावित छ । स्वास्तिका चोकदेखि उत्तर सुम्निमा चोकसम्म यो सडक १३४५ मिटर लम्बाईको छ । सडक विस्तार भएर ५० फिटे बन्दैछ ।

janapath

उपमहानगरपालिकाका अनुसार यो सडक यो आर्थिक बर्षको ठेक्का लागेर सम्झौता पनि भइसकेको छ । तर, ठेकेदार कम्पनीले काम शुरु गर्न ढिलाई गरिरहेको छ । यो सडक वडामार्फत नभै सिधै नगरपालिकाले सञ्चालन गरेको हो । वडाअध्यक्ष दिलकुमार गिरी पनि काममा भएको ढिलाई प्रति असन्तुष्टी व्यक्त गर्छन् । ‘टेण्डर सबै भइसकेको छ, काम शुरु गर्नुपर्ने हो, किन ढिलाई भयो थाह छैन,’उनले भने,‘बर्षा लागिसक्यो, कारबाही गर्नुपर्ने हो कि के हो, नगरपालिकासँग कुरा गरेको छुँ ।’

उपमहानगरपालिकाका इञ्जिनियर एवं पुर्वाधार महाशाखाका प्रमुख सुरज श्रेष्ठका अनुसार टेण्डर निकाल्न ढिलाई भएको तर सम्झौता गरेर कार्यदेश भने ठेकेदारलाई दिइसकेको बताउँछन् । यसपाली २ करोडको ठेक्का लागेको हो । ठेकेदार कम्पनीको एडभान्स पेमेन्ट ग्यारेण्टीको कागज ९ महिनाको चाहिने भएपनि ७ महिनाको मात्र ल्याएकोले त्यो मिलाउन केही दिन ढिलाई भएको इञ्जिनियर सौहार्द श्रेष्ठले बताए । ‘विजुलीको पोल सार्ने, खानेपानी पाइपलाइन दुवैतिर लैजाने, फुटपाथ स्लाब हाल्ने र ग्राभेल गर्ने कामको ठेक्का लागेको हो,’श्रेष्ठले भने,‘चाडै नै पिच गर्ने ठेक्का पनि खुल्छ ।’

janpthhh