पाँचथर: तीन दिनअघि माइक्रोफाइनान्समा कार्यरत युवतीको नगद लुटपाट गरी हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले गए राती मुख्य अभियुक्त पाँचथरकै १९ बर्षीय घनेन्द्र लावतीलाई पक्राउ गरेको हो । मंगलबार साँझ समुहको बैठक बसेर किस्ता संकलन गरी फर्कदै गर्दा एनएमबि माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको विभत्स हत्या भएको थियो । घटनापछि अनुसन्धान र अभियुक्त खोजतालश गर्ने क्रममा गए राती लावतीलाई प्रहरीले पक्राउ गरेको हो । पाँचकार डिएसपी नरेन्द्र कुँवरका अनुसार घटनामा अहिलेसम्म लावतीमात्र संलग्न भएको देखिएकोछ । तर, विस्तृत अनुसन्धन हुन भने बाँकी नै छ । 'अहिलेसम्म उनी मात्र हो भन्ने देखियो, तथ्य प्रमाणको आधारमा पैैसा लुटपाट गर्नु नै मुख्य कारण देखिएको छ,'डिएसपी कुँवरले भने,'अरु केही मनसाय थियो कि भनेर अनुसन्धान हुन बाँकी छ ।'

डिएसपी कुँवरका अनुसार पक्राउ परेका लावतीलाई आजै अदालतबाट थप अनुसन्धानको लागि म्याद थप गर्ने तयारी भइरहेको छ । उनलाई घर आसपासमा नै लुकीछिपी बसेको अवस्थामा बिहिबार राती पक्राउ गरिएको डिएसपी कुँवरले जानकारी दिए । उनले नागरिकन्यूजसँग भने,'उनलाई घर छेउछाउबाट नै पक्राउ गरिएको हो । म्याद थपको लागि प्रक्रिया गरिरहेका छौं ।' लावतीको घर हिलिहाङ ६ मा रहेको छ ।

प्रहरीले लावतीको साथवाट लुटिएको ८१ हजार रुपैया र हत्यामा प्रयोग भएको खुकरी पनि वरामद गरेको छ । हिलिहाङ ६ रातमाटे भन्ने ठाउँमा समूहको बैठक सकेर ब्याज र किस्ता संकलन गरेर फर्कदै गर्दा मंगलबार साँझ तामाङको हत्या भएको थियो । सिक्टे भन्ने स्थानको जंगलमा तामाङको खुकुरीले विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । इलामको माइजोगमाई गाउँपालिका–५ सोयाङ घर भएकी २० वर्षीया तामाङ केही महिनादेखि एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन् । साथै, उनी इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।