विराटनगर: लामो समयसम्म पनि बच्चा नभएपछि सल्लाह र उपचार गर्न विराटनगर अस्पताल(विराट नर्सिङ होम) पुगेकी मोरङ, विराटचोक घरकी एक महिलाको मृत्यु भएको छ ।

अस्पतालका चिकित्सकले पाठेघर सफा गर्दा बच्चा बस्न सक्छ भन्ने सल्लाह दिएपछि सोही अस्पतालमा उपचार गराउदा ३८ बर्षीय चेलीमाया भनिने प्रिति कोइरालाको मृत्यु भएको हो । उनको आज बिहान मृत्यु भएपछि आफन्तजनले अस्पतालमा तोडफोड गरेका छन् । विराटनगरको मुनालपथस्थित अस्पताल क्षेत्र केहीबेर अघि तनावग्रस्त बनेको थियो भने तालाबन्दीसमेत भएको थियो । अहिले जिल्ला प्रहरी कार्यालयबाट डिएसपीको कमाण्डमा प्रहरी पुगेको छ । ताला खुलेपनि आक्रोशित आफन्तजनहरुले सडकमा अवरोधसमेत गरेका थिए ।

birat-hospital

प्रत्यक्षदर्शीसमेत रहेका पत्रकार रोशन घिमिरेका अनुसार अहिले वार्ताको पहल भइरहेको छ । ‘ताला खुल्यो तर सडक जाम नै छ, डाक्टरले राम्रो जवाफ नदिएपछि अस्पतालमा तोडफोड भयो, तनावग्रस्त भयो,’उनले भने । झापाको गौरदह माइती घर भएकी कोइराला सल्लाह लिन अस्पताल पुगेकी थिइन् । डा.ज्ञानेन्द्रमान कार्कीले नै उनलाई पाठेघर सफा गर्न सल्लाह दिएका थिए । डा.कार्कीको सल्लाह अनुसार नै उनको अप्रेशन(पाठेघर सफा) गरिएको थियो । करिब २८ घण्टापछि कोइरालाको मृत्यु भएको घिमिरेले बताए ।सामान्य अवस्थाको मानिसको मृत्यु के कारणले भयो भनेर डाक्टर कार्कीले आफन्तजनलाई जवाफ नै दिन नसकेको घिमिरले जानकारी दिए । ‘इन्फेक्सन भयो भन्नुभयो । राम्रो जवाफ नै दिएनन्, जे गर्नसक्नु हुन्छ, गर्नुस् भन्नुभयो,’घिमिरेले भने ।

chakkat-jam

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले महिलाको मृत्यु भएको घटनामा आफन्तजन आक्रोशित भएर अस्पतालमा सामान्य तोडफोड भएको बताए । स्थिति अहिले सामान्य रहेको पनि उनले जानकारी दिए । ‘के भएको हो भनेर डाक्टरसँगै बुझ्नुपर्छ, तर महिलाको मृत्यु भएपछि सामान्य तोडफोड भएको छ,’डिएसपी श्रेष्ठले भने,‘अहिले स्थिति सामान्य छ, वार्ता हुने तयारी भइरहेको छ ।’

चिकित्सकको लापरवाहीले प्रितिको मृत्यु भएको भन्दै प्रर्दशनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । मोरंग प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । धरान विराटनगर सडकखण्डमा टायर बालेर सडक जाम गर्न खोज्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । अस्पताल प्रशासनले भने कुनै पनि लापरवाही नभएको जनाएको छ ।