झापा: घरेलु कामदारको रुपमा कुवेत पुगेकी झापाकी ४१ वर्षीया सुमित्रा जबेगु लिम्बूको मृत्यु भएको तीन हप्ता बितिसक्दा पनि शव नेपाल ल्याउन सकिएको छैन ।

लिम्बूको परिवार र आफन्तसँग सम्पर्क हुन नसक्दा शव नेपाल पठाउन नसकिएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । बिरामी भएपछि उपचारको लागि भर्ना गरिएकी सुमित्राको उपचारको क्रममा जेठ १४ गते ज्यान गएको थियो । उनी ६ वर्षअघि श्रम स्वीकृति लिएर घरेलु कामदारको रुपमा कुवेत पुगेको दुतावासले जनाएको छ । पाँचथर जिल्लाबाट सन् २०१३ फेब्रुवरी २७ मा जारी गरिएको राहदानीमा सुमित्राको भाइको नाम नैना लिम्बू र स्थायी ठेगाना महाभारा–३ झापा उल्लेख छ । तर परिवारसँग अझै सम्पर्क हुन नसकेको दूतावासले जनाएको छ ।

नेपाली दूतावास कुवेतका द्धितीय सचिव ज्ञानबहादुर मगरले भने, ‘मृतक सुमित्राको शवलाई नेपाल पठाउने सबै कानुनी प्रक्रिया पूरा भैसकेको छ । तर परिवार वा आफन्त कोहीसँग सम्पर्क हुन नसक्दा शर्व नेपाल पठाउन सकिएको छैन ।’ सुमित्राको परिवार र आफन्त चिन्नेहरुले नेपाली दूतावास कुवेतको हटलाइन नम्बर ००६५ ९८८६९१२१ मा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।