तरहरा : उद्योग वाणिज्य संघ इटहरीले तरहराका व्यवसायीलाई नसमेटेको यहाँका व्यापारीहरुले गुनासो गरेका छन् ।

शनिबार तरहरामा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ इटहरी तरहरा शाखाका अध्यक्ष सुदर्शन खड्काले उद्योग वाणिज्य संघ इटहरीको वर्तमान कार्यसमितिले तरहराका व्यापारीको हितमा काम नगरेको आरोप लगाए । हामीले अहिलेको वर्तमान कार्यसमितिलाई पटक–पटक जानकारी गरायौँ, यहाँको समस्याको बारेमा, खड्काले भने, उद्योग वाणिज्य संघ इटहरीले तरहरालाई हेर्ने दृष्टिकोण नै फरक रहेको छ ।

तरहरामा केही वर्ष अगाडि जडान गरिएको सीसी क्यामेरा, सौर्य बत्तीमा पनि समस्या आएकाले पुनः जडानका निम्ति आँफूहरुले पहल गरेपनि उवासंघ इटहरीले सहकार्य नगरेकोमा उनको आपत्ती थियो । अब आउने टिमले सबैलाई समेट्नुपर्छ, उनले भने, तरहरामा अब एउटा जग्गा र भवन बनाउनका लागि आवश्यक छ ।

कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले व्यापारिक स्वतन्त्रताको हक अधिकारका निम्ति लड्ने नेतृत्व आवश्यक रहेको औल्याए । उनले भने, “अहिलेसम्म जातीय, दलीय व्यापारिक चुनाव भयो, अब व्यापारिको स्वतन्त्रताका निम्ति काम गर्ने नेतृत्वको आवश्यक रहेको छ ।”

कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका पूर्व अध्यक्ष रोहित प्रसाईँले व्यापारिको हितमा काम गर्ने नेतृत्व चाहिएको बताए । उनले भने इटहरीले १ नं. प्रदेशकै सबैभन्दा बढी कर तिर्न बाध्य रहेको छ । उनले भीम पौडेल नेतृत्वको समूहले ५ लाखसम्मको व्यवसायीक बीमा गरिने कुरा सराहनीय रहेको बताउँदै भने, “साथीहरुले यसअघि हामी व्यापारीहरुलाई ढाटेका छन्, यो समितिमा समाबेशी समूह रहेको छ । यहाँ राजनीति भन्दा माथि उठेर काम गर्ने साथीहरु हुनुहुन्छ ।” उनले व्यापारमा राजनीति हावी भएको बताउँदै त्यसो हुन नदिनका लागि व्यापारीहरुले अब्बल नेतृत्व चुन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष पदमा उमेद्वार भीम बहादुर पौडेलले आँफू बोल्ने भन्दा पनि काम गर्ने मानिस भएकाले व्यवसायीलाई जस्तोसुकै काममा पनि साथ दिने बताए । उनले भने, “तपाईँहरु तरहरामा भवन बनाउने काम गर्नुहोस्, म के–के सामान चाहिन्छ, निःशुल्क रुपमा उपलब्ध गराउँछु ।” उनले आँफूले केहीदिनअगाडि मात्रै तरहरा शाखाका लागि कम्प्युटर सेट दिएको र आगामी दिनमा सीसी क्यामेरा जडान, सौर्य बत्ती जडान गर्नका लागि पहल गर्ने बताए । व्यवसायीको हक हितका लागि जस्तोसुकै समस्या परेपनि आँफूले काँध थाप्नेमा उनको जोड थियो ।