ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “घूस लिने असई अख्तियारको फन्दामा” शीर्षकको समाचार छापिएको छ । घूस लिँदै गरेको अवस्थामा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट असई पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका प्रहरी चौकीका इञ्चार्ज असइ कटुवाललाई शनिबार अख्तियार दुरुपयोग अनुशन्धान आयोग इटहरीबाट खटिएको टोलीले ७ हजार घूस लेँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो । दाजुभाईमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने नाममा कटुवालले घूस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए । न्याय दिने प्रहरीले नै सेवाग्राहीबाट घूस मागेपछि आक्रोशित पीडित पक्षले अख्तियारमा खबर गरी घूस रकम दिँदै गर्दा असइ कटुवाल पक्राउ परेका हुन् । सेवाग्राहीसँग घूस मागेर असइ कटुवालले पीडित पक्षलाई दुःख दिने काम गरेको भन्दै विशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “२७५३ झापाली रोजगार” शीर्षकको अर्को समाचार पनि छापिएको छ । आगामी पाँच वर्षमा कुनै पनि नेपाली नागरिक वैदेशिक रोजगारको लागि जानु नपरोस् भन्दै सरकारले चालू आर्थिक वर्षबाट मुलुकभर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । झापाका १५ वटै स्थानीय तहमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत २ हजार ७ सय ५३ जनाले रोजगार पाएका छन् । जसमध्ये गौरीगञ्ज गाउँपालिका भने प्रक्रियामा छ । सो गाउँपालिकामा आवेदन लिने काम भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि झापाका ३ करोड ९४ लाख रुपैयाँ खर्च हुनेछ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “सडक सुशासन कार्यक्रम शुरु हुँदै” शीर्षकको समाचार छापिएको छ । प्रदेश नम्बर १ को सडक सुशासनको काम शुरु हुने भएको छ । आर्थिक वर्ष ०७५,०७६ को प्रदेशको नीति तथा कार्यक्रममा घोषणा गरिएको कार्यक्रम शुरु गर्न अध्ययन शुरु गरिएको छ । सुनसरीको रामधुनी नगरपालिकामा पर्ने झुम्कादेखि मोरङको बेलबारीसम्म सो कार्यक्रम गर्न अध्ययन गर्न थालिएको छ । सुनसरीका झुम्का र इटहरी, मोरङका सुन्दरहरैचाँ र बेलबारी लगायतका क्षेत्रमा यही आर्थिक वर्षदेखि काम थालिने भौतिक पूर्वाधार विकास मन्त्रालय महाशाखाका प्रमुख रेवतीरमण निरौलाले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा सडकमा भत्केका संरचना निर्माण, सडकमा छाडा छोडिने पशुका लागि काञ्जीहाउसको निर्माण, सार्वजनिक सौचालय, तथा आकाशे पुल निर्माण गरिने छ ।

औजार : आजको औजार दैनिकमा “श्रीलंका टापुमा नाउँ चलाउन रोक” शीर्षकको समाचार छापिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ महेन्द्रनगर प्रकाशपुर क्षेत्रको श्रीलंका टापुमा नाउँ चलाउन रोक लगाएको छ । सप्तकोशी नदिमा वर्षाको समयमा बाढी आउने त्रासका कारणले र्दुघटना समेत बढ्ने आंकलन सहित श्रीलंका टापुमा नाउँ चलाउन रोक लगाएको हो । प्रत्येक वर्ष कोशीमा नाउँ दुर्घटनामा परि मानिसहरुको ज्यान जाने भएकाले त्यसलाई मध्यनजर गरि श्रीलंका टापुसम्म चल्ने धरहरा टपन टप्पु, प्रकाशपुर राजावास, महेन्द्रनगर सिसौली घाटसम्ममा वषाको समयमा नाउँ चलाउन रोक लगाएको स्थानीयहरुले बताएका छन् ।