धरान: धरान उपमहानगरपालिकाले धरानको ऐतिहासिक तथा महत्वपुर्ण चोकहरुको पहिचान झल्काउन अध्ययन गराउने भएको छ ।

धरानको भानुचोक, छाताचोक, रेल्वे, रत्नचोक, फुस्रे, विजयपुरलगायत चोकहरुको नाम किन रहन भएको भनेर भावी पुस्तालाई पनि जानकारी गराउन र पर्यटकीयरुपमा आकर्षक बनाउन अध्ययन गराउन लागेको हो । ‘विजयपुर चोक, रेल्वे चोक, फु्रसेको नाम कसरी रहन गयो ? त्यो अध्ययन गरेर ती ठाउँको पहिचान झल्काउने गरी रिनोभशन गछौं,’पत्रकारहरुसँगको अन्र्तक्रियामा धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले भनिन् ।

रेल्वे चोकको इतिहास र पहिचान झल्काउने गरी कृत्रिम रेल राख्ने र सेल्फी खिच्ने, कफी खाने थलो बनाउने कार्यवाहक मेयर भण्डारीले बताइन् । रेल्वे चोक विस्तार नगरको गौरवको आयोजनामा समेटिएको छ । यो चोकको डिपिआर तयार भइसकेको छ । रेल्वे चोकलाई फराकिलो बनाउनुका साथै ७२ फिट सडक विस्तार पनि वडा कार्यालयले गरिसकेको छ ।

iteraction

यस्तै, धरान १३ स्थित फुस्रेमा जैविक विविधता पार्क निर्माण शुरु भइसकेको छ । फुस्रे उहिल्यै पहाडी क्षेत्रका मानिसहरु आउने र किनमेल गर्ने ऐतिहासिक ठाउँ हो । यस्तै, महत्वपुर्ण भएर पनि ओझेलमा रहेको विष्णुपाउ मन्दिरको महिमा र महत्वअनुसार पुनर्निमाण गरिने उनले बताइन् । ‘अध्ययन गराएर प्यागोडा शैलीमा निर्माण गराउने योजना छ । मन्दिर वरीपरी व्यक्तिको नाममा जग्गा छ, त्यो मन्दिरको नाममा ल्याउनुपर्ने चुनौती पनि छ,’उनले भनिन् ।

धरान क्षेत्रमा रहेको विजयपुर दरबार, सुलिकोट, साँगुरीगढी, देवीथान गढी, आडालगायत ऐतिहासिक ठाउँको महत्वबारे पुर्नलेखन गर्ने उपमहानगरको योजना छ । साथै, नेपाल एकीकरणसँग जोडिएको यस्ता मत्वपुर्ण ऐतिहासिकस्थलहरुको संरक्षणमा नेपाली सेनासँग पनि समन्वय गरिने उनले बताइन् । ‘नयाँ पुस्तालाई इतिहासबारे जानकारी हुन्छ, ती ठाउँहरु घुम्न जान्छन्,’उनले भनिन् ।