धरान : पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाले सम्भावित नयाँ गन्तव्यकोरुपमा वडा नं ४ र २० मा रक क्लाम्बिङ र क्यानोनिङको पहिचान गरेको छ । ती गन्तव्यको विकासको लागि आगामी आर्थिक बर्षमा उपमहानगरले डिपिआर तयार गर्ने पनि जनाएको छ ।

पर्यटन प्रर्वद्धन विकास समितिले धरानको वडा नं २०, ठुलो खैरेस्थित तारेभिरमा रक क्लाम्बिङको पुर्वसम्भाव्यता अध्ययन भइसकेको जनाएको छ । यस्तै, धरानको वडा नं ४ स्थित सेर्गेमा क्यानोनिङको स्थलगत अध्ययन भएको समितिको भनाई छ । यी दुवै नयाँ गन्तव्यसहित अन्य पर्यटकीयस्थलहरुको विकासको लागि आगामी बर्ष डिपिआर तयार गरिने समितिका सहसंयोजक किसोर थुलुङले बताए । ‘तारेभिरमा रक क्लाम्बिङको लागि भुगर्भ शास्त्रीको टिमले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको छ, ९९ प्रतिशत सम्भव छ भनिएको छ,’समितिका सहसंयोजक थुलुङले भने,‘अर्को बर्ष यस्ता नयाँ गन्तव्यहरुको विकासको लागि डिपिआर तयार गरिनेछ ।’

रक क्लाम्बिङको सम्भावनाबारे केन्द्रीय प्रविधि क्याम्पस हात्तिसरका भुगर्भ विभागका प्राध्यापक चम्पकलाल सिलवालको टोलीले अध्ययन गरेको थियो । साविक विष्णुपादुकाको भञ्ज्याङबाट करिब ४ किलोमिटर उत्तरपश्चिममा अवस्थित ठुलोखैरेमा तारेभीर रहेको छ । त्यहाँ २ वटा वनझाँक्री गुफा पनि छ । नजिकै कोलबुङ होम स्टेको पनि अवधारणा उपमहानगरपालिकाले अघि सारेको छ भने विष्णुपाउ मन्दिर र निर्माणाधिन गोर्खा स्मृति पार्कले पनि यो क्षेत्र पयर्टनको प्रचुर सम्भावना बोकेको ठाउँ हो । ‘अहिलेसम्म हामीले थुप्रै सम्भावना भएका गन्तव्यहरुको खोजी गरेका छौं, अब अर्को बर्षबाट डिपिआर गरेर विकास गर्ने र सँगसँगै प्रर्वद्धनको काम पनि गछौं,’सहसंयोजक थुलुङले भने ।

cannoning-sergey

धरान ४, सेर्गेस्थित क्यानोनिङको लागि पहिचान गरिएको क्षेत्र पनि पर्यटकीय सम्भावना भएको क्षेत्र हो । दानाबारी, हर्दिया हुदै यो ठाउँसम्म उत्कृष्ट पदमार्ग(इको ट्रेल) विकास गरिएको छ भने सेर्गेमा होम स्टेको अवधारणा छ । त्यहाँबाट पर्यटकीयस्थल भेडेटार र नाम्जे पनि नजिकै पर्छ । जनप्रतिनिधिहरु आएपछि उपमहानगरपालिकाले आर्थिक समृद्धिको नारा पर्यटन विकासलाई दिएको छ । तर, ठोस काम गर्न नसकेको भन्दै आलोचना पनि खेपिरहेको छ । यद्यपी, सहसंयोजक थुलुङले धरानमा धार्मिक सर्किट, सँस्कृतिक पर्यटन, प्राकृतिक, साहसिक, खेलुदक, शैक्षिक पर्यटनको सम्भाव्यताहरुको खोजी गरिएको बताए ।

पर्यटकीय गुरुयोजना बनाइने

हालै प्रदेश सरकारले धरानलाई पर्यटकीय नगरी बनाउने घोषणा आगामी आर्थिक बर्षको बजेटमार्फत गरेको छ । आउदो आर्थिक बर्षमा पर्यटनको गुरुयोजना बनाएर समग्र पर्यटन विकासको अवधारणा अघि बढाइने कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् । ‘यसपाली बजेट विनियोजन गरेर गुरुयोजना नै बनाउछौं, र लगानी गर्दै जान्छौं,’उनले भनिन्,‘धरानलाई रिक्रिएशन सेन्टरकैरुपमा रमाउने, घुम्ने ठाउँ बनाउन हामी प्रतिवद्ध छौं ।’

iteraction