धरान: आदिबासी जनजाति महासंघ, नगर समन्वय परिषदले धरान उपमहानगरपालिकासँग पौने ३ करोड बजेट माग गरेको छ ।

आर्थिक बर्ष २०७६/०७७ को बजेट ल्याउने तयारीमा जुटेको उपमहानगरपालिकामा माग पत्र पेश गर्दै महासंघले बजेट माग गरेको हो । महासंघका अध्यक्ष सुवास हुक्पा चोङवाङको नेतृत्वमा कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीलाई भेटेर आदिबासी जनजाति लक्षित बजेट सम्बन्धमा माग पत्र पेश गरेका थिए । महासंघले आफ्नो कार्यक्रम र महासंघमा आवद्ध जतीय संघसंस्थाहरुबाट सञ्चालन हुने कार्यक्रमको शीर्षक र बजेटबारे माग पत्र पेश गरेका थिए ।

IMG_20190623_120023

महासंघले पेश गरेको माग पत्रमा २ करोड ७९ लाख ९१ हजार बजेट माग गरिएको छ । धरान उपमहानगरपालिकाको नगर सभा यही जेठ १० गते हुदैछ । सोही नगरसभामा प्रस्तुत हुने नीति कार्यक्रम तथा बजेटको लागि आज उपमहानगरपालिकामा कार्यपालिका बैठक बसिरहेको छ । उक्त बैठक बस्नुअघि जनजाती महासंघको प्रतिनिधिहरुले कार्यवाहक मेयर भण्डारीलाई कार्यक्रम र बजेटसहितको माग पत्र पेश गरेका थिए ।

बजेट विनियोजन गरिदा संविधानको भावना र मर्मलाई आत्मसाथ गर्दै धरानका आदिबासी जनजाति मैत्री नीति तथा कार्यक्रम तय गरी लागु गर्न र महासंघद्धारा पेश भएको कार्यक्रम प्रस्तावलाई बिशेष महत्व दिएर बजेट विनियोजन गरिदिन महासंघले माग गरेको छ । महासंघको प्रस्ताव र माग बारे आजको कार्यपालिका बैठकमा छलफल हुने बताइएको छ । धरान उपमहानगरपालिकाले यसअघि आदिबासी जनजाति विकास समिति पनि गठन गरेको छ ।