ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “आफुखुशी खर्च गर्नेगरी वडासदस्यले मागे १०–१० लाख” शीर्षकको समाचार छापिएको छ । झापाको दमकमा १० वटा वडा छन् । हरेक वडामा ४ जना वडासदस्यहरु छन् । यसरी हेर्दा नगरमा ४० जना वडासदस्य भए । यी सबै वडासदस्यलाई आफुखुशी खर्च गर्न पाउने गरी १०–१० लाख रुपैयाँ माग गरेका छन् । आइतबार दमक नगरपालिकाको पाचौ नगरसभामा बोल्दै दमक नगरपालिका वडा नं. ७ का वडासदस्य धनेश्वर कार्कीले वडा सदस्यहरु भूमिकाविहीन झैं भए, आफ्ना योजना र कार्यक्रम केही भएनन्, त्यसैले हामीलाई १०–१० लाख रुपैयाँको बजेट चाहियो भन्दै नगरसभामा माग गरे । संघीय सरकार र प्रदेश सरकारको सांसद् क्षेत्र विकास बजेटका बारेमा संघ र प्रदेशमा बहस चलिरहेको बेला दमकका नगर सभासदहरुले पनि वडासदस्य लक्षित बजेट सिलिङको माग गरेका हुन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “चोरीको आरोपमा थुनिएकी महिलाको हिरासतमै मृत्यु” शीर्षकको अर्को समाचार पनि छापिएको छ । मोबाइल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाको हिरासतसँगै जोडिएको शौचालयमा झुण्डिएर मृत्यु भएको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयलमा सुमनदेवी ठाकुरको आइतबार विहान झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी हुन् । महिलाको मोवाइल चोरीको आरोपमा शनिबार साँझपख लहान बजारमा पक्राउ परेपछि करिब १० किलोमिटर दक्षिण पर्ने महेशबारी प्रहरीको हिरासतमा थुनिएको ठाकुरको शव आइतबार विहान करिब सवा ७ बजेतिर झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी एसपी उमाप्रसाद चतुवेदीले जानकारी दिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “इटहरीमा ट्वाइलेट जान पनि पाइँदैन, कसरी बन्छ राजधानी ?” शीर्षकको समाचार छापिएको छ । साँझ ८ बजेको समय । मान्छेभन्दा ठुलो बोरा बोकेको एक जना मानिस इटहरी चोकबाट पूर्वतर्फ जादै थिए । साँझ झमक्कै परेपनि गाडीको आवातजावतले सडक उज्यालो नै देखिन्थ्यो । त्यही प्रकाशले उनको यात्रालाई सहज बनाइरहेको थियो । सुस्तरी एकनासको हिडाइ हिडेका उनको हिडाइ हेर्दा लाग्थ्यो उनी विन्दास हिँडिरहेका थिए । आफुले बोकेको भारी कतिखेर विसाउने भन्नेमा मात्र केन्द्रीत थियो । त्योभन्दा बढी दिनभरको कमाइ कति भयो होला भन्दै सोच्दै थिए होला शायद । हिड्दा हिड्दै उनी टक्क रोकिए । बोरा बिसाए । र नजिकै छरिएका ४ वटा खालि बोत्तल बोरामा हाले । हेर्दा उनको शरीर धुलोमैलो देखिए पनि मन भने सफा रैछ क्यार । शरीर सफा हुनेले फ्याँकेको बोत्तल टिपेर उनको बोरामा हाले । हुनत त्यो उनको दैनिकी नै हो । फोहोर बोकेका सफाइवाला उनी नवलपरासीका शंकर दनुवार रहेछन् । उनका अनुसार नवलपरासीको गैडाकोटबाट ४ महिना अघि उनी पूर्व आएका हुन् । छिमेकी विक्रम लामाले काम दिलाइदिने भन्दै उनलाई लिएर आएका थिए । इटहरी बसपार्कको एउटा होटलमा नागरिकता धितो –जमानी) राखेर खाना खान थाले । काम केही नपाएको अवस्थामा होटलका विल बढ्दै गयो । अब समस्या पर्यो नागरिकता कसरी उकास्ने भन्ने । त्यसपछि उनले सडकमा फ्याकिएका कार्टुन र बोतल उठाउने काम शुरु गरे । दिनमा ३ सयदेखि ५ सयरुपैयाँसम्म कमाई हुने भएपछि उनलाई त्यही काम सजिलो लाग्यो । उनी भन्छन्, “१ म्हिनापछि बल्ल नागरिकता उकासे ।” अचेल उनको कमाइले बिहानबेलुका खान पुग्न थालेको छ । २ महिना पुरा भयो उनले काटुन उठाएको । अब यही महिना उनी घर फिर्ने तयारीमा लागेका छन् । उनलाई इटहरी पटक्कै मन परेको छैन । “यहाँ पिसाब गर्न पनि पाइँदैन,” उनी भन्छन्, “हाम्रो नवलपरासीमा हरेक ४ घरको फरकमा ट्वाइलेट छ । यहाँ त पुरै बजार घुम्दा पनि ट्वाइलेट पाइदैन । पैसा तिर्दा पनि ट्वाइलेट नपाउने बजार रैछ इटहरी ।” उनको भनाइ रोकीदैन । “राजधानी मागगरेको सुन्छु । यस्तो ठाउँलाई कसरी राजधानी बनाउछन् होला । म त छक्क पर्छु ।” इटहरीमा लामो समयसम्म काम खोज्दा काम नपाएकोमा उनी दुःखी भएका रहेछन् ।