युरोपेली मुलुक चेक रिपब्लिकमा प्रधानमन्त्री आन्डे«ज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ ।

‘मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी ग्रुप’ ले आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रघात गरेको आरोप लगाउँदै प्रधानमन्त्री बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको हो ।

राजधानी प्रागमा भएको प्रदर्शनमा २ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका छन् । प्रदर्शनकारीहरुले आपराधिक गतिविधिमा संलग्न र राष्ट्रघातको आरोप लागेका व्यक्ति पदमा बस्न नहुने भन्दै राजीनामा माग गरेका छन् । चेक रिपब्लिकमा भएको प्रदर्शन सन् १९८९ पछिकै विशाल भएको बताइएको छ ।

प्रधानमन्त्री बाबिसमाथि युरोपियन युनियनले दिएको २ मिलियन युरो अनुदान हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ । उनले सो रकम आफू सत्तामा आउनु अघि सन् २०१७ मा दुइवटा कोषमा ट्रान्सफर गरेका थिए ।

यद्यपी प्रधानमन्त्रीले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । प्रदर्शनकारीहरुले भने प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन् ।