धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४० औं स्थापना दिवसको अवसरमा सोमबार धरानमा पनि भव्यरुपमा रक्तदान कार्यक्रम गरी मनाइएको छ ।

संगठनको धरान उपमहानगर कमिटिको आयोजनामा भानुचोकको लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका बिशेष अतिथि एवं संगठनका पुर्वअध्यक्ष मोतिराज सुनुवारले यातायात मजदुरहरुले पनि देशको समृद्धिमा योगदान पुर्याइरहेको बताए । नेपालको राजनीतिक परिवर्तनहरुमा मजदुरहरुको पनि महत्वपुर्ण भुमिका रहेको चर्चा गर्दै सुनुवारले समृद्ध नेपाल बनाउने अभियानमा मजदुरहरु पनि रहेको बताए ।

majdur-sangathan

विगतमा चालक, सहचालक यातायात मजदुरहरुले केही पनि जान्दैनन् भन्ने आम मानिसको बुझाइ रहेको भएपनि अहिले परिवर्तन आइसकेको पुर्वअध्यक्ष सुनुवारले बताए । ‘अहिले हामीले पनि सामाजिक प्रतिष्ठा र देश बनाउने अभियानमा छौं । यो संगठनलाई पनि देश बनाउने संगठनकोरुपमा चिन्न थालेको छ, समृद्धि बनाउने अभियानमा मजदुहरु पनि छन् भन्ने सोच बनेकोछ,’उनले भने ।

नेकपाका प्रदेश नं १ कमिटि सदस्य विजय राईले पनि याताया मजदुरहरुको बोली, व्यवहारमा धेरै परिवर्तन आएकोले विगतमा हेर्ने नजर फेरिएको बताए । उनले भने,‘पहिला समाजको हेपाहा दृष्टिकोण थियो, अहिले फरिएको छ । सम्मानजनक अवस्था छ ।’ कार्यक्रममा नेता पदम इस्पो, चोत्लुङ, लायन्स क्लब अफ विजयपुरका संस्थापक अध्यक्ष गौरीशंकर अग्रवाललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

संगठनका धरान उपमहानगर कमिटि अध्यक्ष कमल भटराईले संगठनको स्थापना दिवसको अवसरमा सामाजिक कामको लागि रक्तदान कार्यक्रम गरिएको बताए । ‘यातायत क्षेत्रमा धेरै दुर्घटना हुन्छ, सर्वसाधारण र मजदुरहरुलाई रगतको खाँचो पर्छ, त्यसबेला हामीले यसरी संकलन गरेको रगत काम दिन्छ,’अध्यक्ष भटराईले भने,‘हामी यातायात क्षेत्र मात्र होइन, सामाजिक काममा पनि छौं, त्यसैले रक्तदान कार्यक्रम गरिएको हो ।’ रक्तदान कार्यक्रममा कुल ९० पिन्ट रगत संकलन भएको उनले बताए । 

IMG_8805

अध्यक्ष भटराईका अनुसार आज देशव्यापीरुपमा संगठनको स्थापना दिवस मनाइएको छ । रक्रदान कार्यक्रम लायन्स क्लब अफ विजयपुर र लायन्स क्लब अफ विजयपुर युनाइटेडसँगको सहकार्यमा आयोजना भएको थियो । यातायात मजदुर,विद्यार्थी, सञ्चारकर्मी, विपी प्रतिष्ठानका डाक्टरहरुसमेतले रक्तदान गरेका थिए । रक्तदानलगत्तै विद्यार्थीहरुले रक्तदान क्षेत्रमा सफाई पनि गरेका थिए ।

IMG_8832 IMG_8829 IMG_8836