इटहरी : अहिले बिहीबार बन्द हुँदै आएको इटहरी बजार अब शनिबार कि बिहीबार बन्द गराउने भन्ने बिषयमा मतदान हुने भएको छ ।

उद्योग बाणिज्य संघका बर्तमान बरिष्ठ उपाध्यक्ष शैलेस बिष्टका अनुसार व्यवसायीहरु बिहीबार या शनिबार कुन दिन बन्द गर्ने भन्ने बिषयमा अन्यौल रहेका कारण व्यवसायी स्वयम्ले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ । यहि असार १४ गते हुन लागेको उद्योग बाणिज्य संघको निर्वाचनका बेला व्यवसायीले कुन दिन बजार बन्द गर्ने भन्ने बिषयमा मत हाल्न पाउने उनले बताए ।

‘शनिबार या बिहीबार कुन दिन बन्द गर्ने भन्ने बिषयको कुरा उठिरहँदा व्यवसायी आफैँले कुन दिन बन्द गर्ने भन्ने बिषयमा मतदान गर्न सक्छन्,’ उनले भने, ‘व्यवसायीको मतको आधारमा बढी मत जुन दिन आउँछ सोही दिन बिदा गर्ने निर्णय गरेका छौँ ।’ निर्वाचन समिति संयोजक विश्व रिजालका अनुसार बजार बन्दको नतिजाका लागि सोही अनुसारको मतपत्र छाप्ने र मत खसाल्ने व्यवस्था गरिएको जानकारी दिए ।