विराटनगर : आइतबार साँझ मोरङबाट हतियारसहित पक्राउ परेका दुई जना नेत्रबिक्रम चन्द विप्लवका कार्यकर्ता भएको खुलेको छ । उनीहरु चन्दा उठाउन जाने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले आज सोमबार थप एक जना पनि पक्राउ गरेको छ भने अन्य थप हतियार पनि वरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । प्रहरीले आइतबार सुन्दरहरैंचा नगरपालिका–१२ घर भएका ४० वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ घर भएका ३४ वर्षीय सुदीप भनिने कंश धिमाललाई पक्राउ गरेको थियो भने उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय केन्द्रलाल धिमाललाई सोमबार दिउँसो पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये राई विप्लव समुहका जिल्ला जनपरिषद प्रमुख भएको पनि एसपी विश्व अधिकारीले जानकारी दिए । पक्राउ परेका कंश यसअघि पनि डाँडा मुद्दामा ७ बर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् ।

प्रहरीका अनुसार आइतबार राती राई र धिमाललाई बेलबारी नगरपालिका ४ स्थित स्कुलडाँडबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुबाट दुईवटा पेस्तोल, चारवटा म्याग्जिन र १४ राउण्ड गोली बरामद भएको थियो । उनीहरु विभिन्न व्यापारिक संस्था, वन समुहहरुमा चन्दाको रकम उठाउन जाने क्रममा पक्राउ गरेको जनाएको छ । उनीहरु चन्दा असुली गर्न को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा गइरहेका बेला चेकजाँचको क्रममा पक्राउ गरेका थिए । प्रहरीका अनुसार आइतबार पक्राउ परेका राई र धिमालले हतियार राखिएको ठाउँबारे जानकारी दिएका थिए । उनीहरुको वयानको आधारमा कंशको घरमा गएर खोजी गर्दा हतियार र गोली फेला परेको एसपी अधिकारीले बताए । उनका अनुसार घरमा खोजी गर्दा रातो झोलामा राखिरहेको अवस्थामा हतियार र गोली भेटिएको थियो ।

प्रहरीले सोमबार केन्द्रलाललाई नियन्त्रणमा लिएपछि थप ३ नाल भरुवा बन्दुकसहित अन्य सामग्रीहरु पनि भेटेको थियो । तीन थान बन्दुकमध्ये एउटा लोड भएको अवस्थामा बरामद भएको एसपी अधिकारीले बताए । उनीहरु वन्यजन्तुको चोरीशिकारीमा पनि संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । उनीहरुलाई मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको हातहतियार तथा खरखजना कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।