ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “स्थानीय तहमा दलित महिलाः नीति कार्यक्रममा खाली हात” शीर्षकको समाचार छापिएको छ । स्थानीय तहका निर्वाचनको कार्यविधि तयार पार्दा, महिला र दलित महिलालाई विशेष प्राथमिकतामा रापखयो । प्राथमिकतासहित अवसर पनि पाए । तर अवसर पाएका ती प्रतिनिधिले आफ्नो स्थानीय तहमा भने कुनै पनि निर्णायक योजना बनाउन सकेको छैनन् । न उनीहरुले आफ्नो समुदाय विशेष कुनै समस्या नै वडामा लगेर योजनामा पार्नसके न अन्य । अरु जनप्रतिनिधि विशेषगरी वडाध्यक्ष र नगरपरिषद् सदस्य अनि प्रमुख, उपप्रमुखको लहलहैमा लागेर दलित महिला सदस्यको दुई वर्ष पुरा भएको छ । वडामा करोडसम्मको बजेट आउँछ, त्यो बजेटको आधारमा अध्यक्ष, वडासचिवसहित ती दलित महिला सदस्यलाई पनि छलफलमा राखेर योजना त बनाइन्छ । तर उनीहरुको कुरा त्यहाँ लागू हुदैँन । उनीहरु पनि कुनै योजना लिएर जादैनन् । जनप्रतिनिधि भएको दुई वर्ष भइसक्दासमेत दलित महिला सदस्यहरु आफ्नो समुदाय भित्रका विभेदका पहिचान गर्न नसकेको बताउँछन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “श्रीमती निकाल्नेको घरमा तालाबन्दी” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सुनसरीको गढी गाउँपालिका ६ मझौका वीरेन्द्र खड्गा र सप्तरी कञ्चनरुपनगरपालिका ८ की सिङ्कु यादवसँग २०७४ वैशाख माहिनामा विवाह भयो । विवाहको ४ महिनासम्म श्रीमान श्रीमतीसँगै बसे । पछि श्रीमान वीरेन्द्रले श्रीमती सिङ्कुलाई कुटपिट गर्दै घरनिकाला गरे । केटा पक्षद्वारा २ वर्षयता घरनिकाला गर्ने, खान लाउन नदिने, विवाह दर्ता र नागरिकता बनाउनसमेत नमानेको भन्दै सिङ्कुका माइती पक्षले सोमबार केटापक्षको घरमा तालाबन्दी गरेका छन् । केटापक्षले यातना दिने क्रम बढेपछि बाध्य भएर स्थानीयबासीको सहयोगमा आफन्तहरुले केटाको घरमा चारवटा कोठामा तालाबन्दी गरेको पीडित २२ वर्षीय सिङ्कुले बताइन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “चिया उद्योग संकटमा” शीर्षकको समाचार छापिएको छ । चियाको राजधानी इलामको सूर्योदय नगरपालिकाकामा उद्योगीहरुले चिया उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोके बमोजिम हरियोपत्ती खरिद गर्न नसक्ने भन्दै चिया उद्योगीहरुको संगठन सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले आफूसम्वद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो ।  नगरपालिकाले तय गरेको चियाको मूल्य निर्धारणसम्बन्धी कार्य्विधि २०७५ मा हरियोपत्तीको न्यूनतम् मूल्य ४० रुपैयाँ कायम गरेको छ । तर, उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीको गुणस्तर खस्किएकाले पनि नगरपालिकाले तोकेको मूल्य किसानलाई दिन नसक्ने भन्दै बरु कारखाना बन्द गर्न सहमत भएका हुन् ।  एसोसिएनले नगरपालिकामा पठाएको पत्रमा असार १२ गतेदेखि कारखाना बन्द गर्ने उल्लेख गरिएको छ । उद्योगीले यसअघि हरियो चियापत्तीको गुणस्तरका आधारमा मूल्य दिँदै आएका थिए । तर, यस पटकदेखि उद्योगीसँग कुनै छलफल नगरी नै नगरपालिकाले एकलौटी ढंगले दररेट तोकेको भन्दै विरोधस्वरुप उद्योग बन्द गर्नु परेको पनि कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले बताए ।  चिया किसानले उद्योगीलाई दुई पात एक सुइरो हरियो पत्ती  दिनुपर्नेमा त्यसो नगरेको उनीहरुको गुनासो छ । यसमा नगरपालिकाले अनुगमन नगरी नियममात्र गरेर उद्योग धरासायी बनाउन खोजेको आरोप उद्योगीहरुले लगाएका छन् ।

औजार : आजको औजार दैनिकमा “स्थानीय तहको कार्यक्रम कोठामा” शीर्षकको समाचार छापिएको छ । सचेतना मुलक कार्यत्रमहरु सुनसरीमा कोठामा सिमि तबनेको गुनासो बढेको छ । जिल्लाको १२ वटै स्थानीय तहमा एकै दिनमा एउटै वडामा तीन भन्दा बढी कार्यक्रम सकेको र त्यो पनि कोठामा सिमित बनेको गुनासो बढेको हो । यसरी कार्यक्रमहरु असारमा नै गर्ने गलत संस्कारका कारणले कार्यक्रममा प्रशिक्षण गर्ने प्रशिक्षकहरुलाई समेत भ्याईनभ्याई भएको छ । विपन्न समुदायदेखि बालबालिका र महिलासम्मको लागि गरिने सचेतना मुलक कार्यक्रमहरु समेत वर्षाको समयमा गरेर कागज र कोठामा सिमित बनाइएकाले समस्या देखिएको इनरुवाका बौवालाल मेहताले गुनासो गरे ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “बजेट र नगरसभा नै अन्योलमा” शीर्षकको समाचार छापिएको छ । स्थानीय सरकारलाई असार १० गतेभित्र बजेट ल्याउन केन्द्रीय सरकारले निर्देशन दिँदै बजेट नल्याए अनुदान रोक्ने चेतावनी समेत दियो । कतिपय स्थानीय तहले असार १० मा बजेट ल्याउने तयारी गरेका छन् भने कतिपय विवादले बजेटको सुरसार गर्न पाएका छैनन् । झापाको शिवसताक्ष्ी नगरपालिकामा प्रमुख अतिथि बनाउने विषयमा विवाद हुँदा नगरसभा अन्योलमा परेको छ । महान्यायाधिवक्ता अग्नी खरेल र प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवा कसलाई बनाउने भन्ने विषयमा कार्यपालिका बैठकमा विवादै भयो । नगर प्रमुख चन्द्रकुमार शेर्मा खरेललाई प्रमुख अतिथिका रुपमा ल्याउन चाहन्छन्, तर बहुमत कार्यपालिका सदस्यहरु, प्रतिनिधिसभा सदस्य साँवालाई नै ल्याउनुपर्ने अडानमा रहँदा कार्यपालिका बैठकले निर्णय गर्न सकेन ।